काठमाडौं।
नेकपा एमालेले देशव्यापी रुपमा गरेको कार्यकर्ता परिचालनले पार्टीको शक्ति
सर्वेक्षण गरेको छ। देशैभरि केन्द्रीय प्रतिनिधि तोकेर गरिएको सर्वेक्षणले
पार्टी पंक्ति उत्साहित भएको ठहर एमालेले गरेको छ। पहिलो पार्टी बन्ने
लक्ष्य लिए पनि एमालेको आन्तरिक सर्वेक्षणले पहिलो बन्न निकै मेहनत
गर्नुपर्ने निष्कर्ष समेत निकालेको छ।
तर विभिन्न व्यक्तिहरूको बहिर्गमनले
एमाले कमजोर भएको हल्ला चलिरहेका बेला ग्रासरुटमा भने त्यसको खासै असर
नपरेको निष्कर्ष एमालेले निकालेको छ। विगतको संविधानसभा निर्वाचनमा भोगेको
पराजयको बदला लिन पाटीं पंक्ति तयार भएको र राम्रो समन्वय हुँदा एमाले
पहिलो शक्तिका रुपमा आउन सक्ने निचोड पनि निस्किएको छ। एमालेले गत महिनासम्म देशैभरि निर्वाचन क्षेत्र तोकेरै केन्द्रीय प्रतिनिधि
पठाई कार्यकर्ता परिचालन तथा जनअभियान सन्चालन गरेको थियो। यसक्रममा
बिभिन्न पार्टीका केन्द्रीय नेतादेखि कार्यकर्ताको ठूलो पंक्ति एमाले
प्रवेश गरेको बताइएको छ। केन्द्रीय प्रतिनिधिहरूले केन्द्रीय सचिवालयमा पेश
गरेको मूल्यांकन रिपोर्टको समीक्षा भइनसके पनि आगामी संविधानसभा
निर्वाचनमा एमालेले विगतमा पराजय भोगेका धेरै सिट फिर्ता गर्ने निष्कर्षमा
पार्टी पुगेको छ। केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन, नेताहरूको
परिचालन, कार्यकर्तालाई आत्मविश्वास जगाउने तथा राम्रो समन्वय गर्न सक्दा
पार्टी एमाओवादी र नेपाली कांग्रेससँग कडा टक्करमा जान सक्ने र त्यो
अवस्थामा पहिलो वा दोस्रो स्थान सुरक्षित हुनसक्ने निष्कर्ष नेताहरूले
निकालेका छन्। एमाले स्रोतका अनुसार, अशोक राईसहितका केही जनजाति नेताहरूको बहिर्गमनका
कारण पूर्वका एकाध जिल्लामा असर परेको छ। अशोक राईको जातीय पार्टीले
एमालेलाई देशैभरी असर पार्ने हल्ला चलिरहेका बेला एमालेले आन्तरिक रुपमा
गरेको सर्वेक्षणले पूर्वका भोजपुर, खोटाङ, उदयपुर, धनकुटा, संखुवासभा र
सुनसरीमा केही क्षति पुग्ने ठहर छ। तर निर्वाचन परिणाम नै तलमाथि हुने गरी
भने धेरै असर नपरेको केन्द्रीय सदस्य शेरधन राईले बताए। अशोक राईको जातीय
पार्टीमा अवसर नपाएका र पार्टीको आन्तरिक प्रतिस्पर्धामा पछि परेकाहरूको
एउटा सानो झुण्ड समूह गए पनि त्यसले चुनावी परिणाममै अन्तर नल्याउने
विश्लेषण नेताहरूले गरेका छन्। पूर्वका केही जिल्ला बाहेक अन्यत्र अशोक राई
पार्टीको प्रभाव नरहेको निष्कर्ष एमालेले निकालेको छ।एमालेले यस निर्वाचनमा राजधानीमा आफ्नो शक्ति पुनर्स्थापनालाई प्रमुख एजेण्डा बनाउने भएको छ। एमालेको प्रभाव क्षेत्रका रुपमा रहेको काठमाडौं र ललितपुरमा अघिल्लो संविधानसभा निर्वाचनमा पार्टी शून्य सिटमा झरेको थियो। आन्तरिक विवाद, निर्वाचन परिचालन समन्वयको कमी, नेता कार्यकर्ता र जनताबीचको सम्बन्ध टुट्नु, आफ्नो शक्तिबारे बढी मूल्यांकन हुनु, उम्मेदवारी छनौटमा कमजोरी जस्ता कारणले विगतमा पार्टी पराजीत भएको ठहर गर्दै एमालेले यसपटक राजधानीमा पुनरागमनका लागि विशेष योजना बनाउँदैछ। राजधानीमा निर्वाचन क्षेत्र समेत बढ्ने आँकलन सहित एमालेले कम्तीमा पनि आधा सिटमा बिजय पाउनै पर्नेगरी योजना बनाउन लागेको केन्द्रीय सदस्य रामेश्वर फुयाँलले बताए। ‘एमालेभित्र एक ढिक्का भएर निर्वाचनमा जाँदा राजधानीमा कम्तीमा पनि आधा सिट जितिन्छ’ उनले भने ‘कार्यकर्ता र जनताको हिसाबले एमाले राजधानीमा अहिले पनि सबैभन्दा सशक्त छ’।
मंसीरनिर्वाचन हुन्छ कि हुँदैन भन्ने अन्यौलकै कारण एमालेले राष्ट्रिय प्रतिनिधि परिषद् बैठक अहिले नगर्ने भएको छ। अध्यक्ष झलनाथ खनालले परिषद्को नामै लिन नचाहेका कारण पनि अहिले सम्भव नभएको एक नेताले बताए। राष्ट्रिय प्रतिनिधि परिषद् सरेपछि महाधिवेशन पनि कम्तीमा फागुनसम्मलाई थन्किएको छ। मंसिरमा संविधानसभा निर्वाचन नभएको अवस्थामा महाधिवेशन अनिश्चित हुने चिन्ता एमालेभित्र बढेको छ। यद्यपि निर्वाचन मंसिरमै गराउन पार्टी एकताबद्ध भएर अघि बढ्ने भएको छ। भदौमा हुने राष्ट्रिय कार्यकर्ता भेलापछि पार्टी सम्पूर्णरुपमा निर्वाचनमा होमिने र केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेर अघि बढ्ने महासचिव इश्वर पोखरेलले बताएका छन्। देशैभरिको अवस्था आँकलन गरेर उम्मेदवार छनौट गर्दा पनि सोही अनुरुप गरिने उनले बताए।
एमालेले देशभरको आँकलनमा प्रत्यक्षतर्फ अघिल्लो निर्वाचनको भन्दा दोब्बर सिट जित्ने लक्ष्य लिएको छ। विगतमा एमालेका करीव दुई दर्जन उम्मेदवार ७ भोटदेखि ३ सय भोटको अन्तरमा पराजीत भएका र एक हजार मतको अन्तरमा हार्नेहरूको संख्या ५० भन्दा बढी भएकाले पनि एमालेले यसपटक त्यो अवस्था आउन नदिने योजना बनाउँदैछ। अध्यक्ष, महासचिव लगायत बरिष्ठ नेताहरू लड्ने निर्वाचन क्षेत्रलाई प्राथमिकतामा राखिने भएको छ। विगतमा माओवादीले बरिष्ठ नेताहरू उठेका ठाउँमा विभिन्न हतकण्डा अपनाएर हराएको र कतिपय अवस्थामा एमालेका प्रभावशाली नेताहरूलाई हराउन कांग्रेस र माओवादी मिलेका कारण पनि एमालेले यसपटक त्यो अवस्था आउन नदिन योजना बनाउने भएको छ। निर्वाचनका क्रममा एमाले कार्यकर्ता अल्छी हुँदा काठमाडौं जस्ता ठाउँमा पनि माओवादीले एमाले समर्थकको नाममा मतदान गरेको र एमाले निरीह बनेको इतिहास समेत एमालेले स्मरण गरेको छ। सिनियर नेताहरू आफैं जित्ने ध्याउन्नमा लाग्दा देशभर उम्मेदवारहरूले व्यक्तिगत निर्वाचन लडे जस्तो महसुस गरेको र कार्यकर्ताको संरक्षण समेत हुन नसकेकाले यसपटक प्रभावशाली नेताहरूको एउटा टिम नै खडा गरेर त्यसले देशभरको अवस्थाको अनुगमन गर्नेछ। प्रहरी प्रशासनसँग समन्वय गर्ने तथा आवश्यक परेको कुनै पनि ठाउँमा तत्काल पार्टीले आफ्नो टोली पठाउन सक्नेगरी संयन्त्र खडा गर्ने विषयमा पनि एमालेमा छलफल भइरहेको छ। उम्मेदवार उठाउँदा सकेसम्म नयाँ, आर्थिक लगायत अन्य विवादमा नपरेका, जनतामा लोकप्रिय खालका व्यक्ति छान्ने नीति बनाउन लागिएको नेताले बताए। ‘नाम चलेका र केन्द्रीय स्तरका नेता उठाउँदैमा चुनाव जित्ने अवस्था रहेन, त्यसैले अब नयाँ र जनतामा टेष्ट नभएकालाई प्राथमिकता दिने नीति आउँछ’ एक प्रभावशाली नेताले भने ‘कतिपय सिनियर नेताहरूले निर्वाचन परिचालनकेा जिम्मेवारी पाउनेछन्।’
तराई मधेशमा पार्टीको आन्तरिक कारणले पनि कमजोर भएको निर्क्यौल निकाल्दै एमालेले यसबीचमा त्यस क्षेत्रमा अभियान चलाउने भएको छ। रामचन्द्र झाको पलायनले खासै असर नपारे पनि विशेष गरी धनुषा लगायतका जिल्लामा नेताहरूबीचमै विवाद भएकाले जनकपुरलाई एमालेले बढी महत्व दिएको छ। रत्नेश्वर गोइत, यदुवंश झा लगायतका नेताहरूको एमाले प्रवेशपछि उनीहरूलाई व्यवस्थापन गर्नेबारेमा पनि छलफल भइरहेको स्रोतले जनाएको छ।
No comments:
Post a Comment