Sunday, July 21, 2013

प्रचण्डको प्रस्ताव पारित, श्रेष्ठ र बोगटीको राजिनामा स्वीकृत

            काठमाडौं, साउन ६– एकीकृत नेकपा –माओवादी)को केन्द्रीय समितिको ललितपुरमा जारी विस्तारित वैठकमा अध्यक्ष प्रचण्डले शुक्रबार प्रस्तुत गरेको प्रस्ताव आज एकमतले पारित भएको छ ।      
                 वैठकका ५ सयभन्दा बढी सहभागीले ताली बजाएर उक्त प्रस्तावलाई पारित गरेका हुन् । प्रस्तावलाई पारित गर्न कार्यक्रमका सञ्चालक पोस्टबहादुर बोगटीले आह्वान गरेपछि सहभागीहरुले पाँच मिनेटसम्म ताली बजाएर हर्षोल्लासका साथ प्रस्ताव पारित गरेको वैठकका एकजना सहभागीले जानकारी
दिए ।
              प्रस्ताव पारित भएपछि आजदेखि एमाओवादीमा अध्यक्ष प्रचण्ड सर्वशक्तिमान बनेका छन् । अन्य पूर्वपदाधिकारीहरु केन्द्रीय सदस्यमा झरेका छन् । प्रस्ताव पारित हुनुअघि अध्यक्ष प्रचण्डले वैठकका सहभागीहरुलाई सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा प्रचण्डले अब आफ्नो नेतृत्वमा पूर्वपदाधिकारी सम्मिलित सचिवालय गठन हुने पनि जानकारी दिए । ‘समय सन्दर्भ नमिलेकै किन नहोस् बाबुरामजीको पदत्यागले पार्टी निर्माणमा सकारात्मक योगदान ग¥यो,’ प्रचण्डले भने, ‘अब एमाओवादी पार्टी नयाँ पार्टी बन्यो ।’
          प्रचण्डले वैठकमा एमाओवादीका सम्पूर्ण नेता–कार्यकर्ता आउँदो एक महिना चुनावकेन्द्रित भएर ‘गाउँफर्क’ अभियानमा लाग्नुपर्ने पनि बताए । आउँदो मंसिर ४ मा संविधानसभाको दोस्रो निर्वाचन सम्पन्न भएरै छाड्ने प्रचण्डको भनाइ थियो । एकीकृत माओवादी अध्यक्ष प्रचण्डले शुक्रबार वैठकमा ‘विशेष राजनीतिक तथा संगठनात्मक प्रस्ताव’ पेश गरेका थिए । वैठक आज साँझसम्ममा समापन हुने जनाइएको छ ।

No comments:

Post a Comment