rajendra-mahato                काठमाडौं। जसको सरकार बन्दा पनि नछोडेर सदाबहार मन्त्रीको पहिचान बनाएका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोमाथि पैसाका आधारमा नेताहरू खरिद गरेको आरोप पार्टीभित्रैबाट लागेको छ। सरकारबाट बाहिरिएपछि मात्रै उनले आधा दर्जनभन्दा बढी समूह र नेताहरूलाई पार्टी प्रवेश गराइसकेका छन्।
०६२–६३ को परिवर्तनपछि झलनाथ खनाल प्रधानमन्त्री हुँदाबाहेक अरू सरकार परिवर्तन हुँदा महतोले मालदार मन्त्रालय पाउँदै आएका थिए। प्रायः उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र पूर्व कर्मचारीहरूलाई सुम्पिनुअघि स्वास्थ्य मन्त्रालयमा उनी चर्चामा आइरहन्थे। मन्त्री हुँदा बुझाएको सम्पत्ति विवरणमा समेत सबैभन्दा बढी धनी देखिने तिनै महतोको ध्याउन जसरी भए पनि पार्टीलाई ठूलो बनाउनेछ। केही वर्षअघि एमाओवादीको इशारामा महासचिव अनिलकुमार झाले
पार्टी चोइट्याइदिएपछि केन्द्रमा मात्रै चुरीफुरी गर्दै आएका महतोले आगामी संविधानसभा निर्वाचनमा आफ्नो अस्तित्व रक्षाका लागि देखिने अनुहारहरू खरिद गरेको आरोप लागेको हो।
                                                            मधेस क्षेत्रमा उनको न राजनीतिक प्रभाव छ, न त राष्ट्रिय राजनीतिमा नै उच्च हैसियत नै छ। तर पनि, भोलि शाहीकालीन मन्त्री बद्रीप्रसाद मण्डललाई भित्र्याउने तयारी गरेका छन्। त्यस्तै, फोरम गणतान्त्रिकका वरिष्ठ उपाध्यक्ष अब्दुल जब्बार, सोही पार्टीका उपाध्यक्ष ओमप्रसाद गुल्जारी, संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चाका संरक्षक कौटिल्य शर्मा उर्फ सञ्जय गुप्तासहित सिंगै मोर्चालाई ठूलै रकम खर्चिएर पार्टी भित्र्याएको चर्चा छ। त्यस्तै, धनुषाका ‘छोटे डन’ सञ्जय टक्लालाई पनि १५ लाख खर्चिएर पार्टी भित्र्याएको खबरले सो पार्टीभित्र तीव्र असन्तुष्टि प्रकट भएको छ। स्रोतका अनुसार गत फागुन १९ गते एकीकरण भएको राजीव झा नेतृत्वको मधेस राष्ट्र जनतान्त्रिक पार्टी (क्रान्तिकारी)का नेताहरूले तीव्र असन्तुष्टि प्रकट गरेका छन्। त्यतिबेला सरकारको हर्ताकर्ता भएका बेला उनले राजीव झालाई उपाध्यक्ष वा महासचिव बनाउने प्रलोभन दिँदै २२ जिल्लाका नेता कार्यकर्तासहित पार्टीलाई सद्भावनासँग एकता गराएका थिए। त्यतिबेला झासँग उनका ६ जनालाई केन्द्रीय कमिटीमा ल्याउने प्रतिबद्धता पनि उनले गरेका थिए। त्यसअनुरूप पार्टीसहित आएकाहरूलाई अपमान गर्दै पैसा दिएर ‘डन’ टक्लालाई नै उपाध्यक्ष बनाइएपछि पार्टी फेरि फुटको संघारमा पुगेको छ। पार्टीसहित आएका नेता कार्यकर्ताहरूले महतोको कार्यशैलीप्रति तीव्र असन्तुष्टि प्रकट गर्ने थालेको सुइँको पाएपछि महतोले पैसा दिएर डनहरूलाई पार्टीमा महत्त्वपूर्ण जिम्मेवारी दिन थालेका हुन्। सो पार्टीबाट अलग्निे मनस्थितिमा तराई जनतान्त्रिक तराई मुक्ति मोर्चाका संरक्षक कौटिल्य शर्मा र झाले तयारी गरेको बताइन्छ। ‘हामीले वार्ता गरेर एउटा सम्झौताको आधारमा पार्टी एकीकरण गरेका हौं’– महतोप्रति असन्तुष्ट झाले भने– ‘प्रतिबद्धताअनुसार उहाँले काम गर्नुभएको छैन, यसमा नेतृत्ववर्गले सोच्नुभएको छैन।’ झाले महतोले प्रतिबद्धताअनुसार आलटाल गर्दै आएको बताए।
                            पार्टीभित्र पछिल्लो पटक असन्तुष्ट कार्यकर्तालाई मिलाउनका लागि उनले केही दिन अगाडि आफू फेरि पनि अब मन्त्री नहुने घोषणा गरेका थिए। दक्षिणतिरको आशीर्वाद लिएर मधेसको राजनीतिका लागि असाध्यै उपयुक्त ठानिएका महतोले यतिबेला पैसा खर्च गरेर कार्यकर्ता जम्मा गर्न थालेको कुरा अख्तियार दुरुपयोग अनुन्धान आयोगसम्म पुगेको बताइन्छ।