Jiven-Luitel                 काठमाडौं। अहिलेका जल्दाबल्दा नायक हुन् जीवन लुइँटेल। अन्य प्रतिस्पर्धीलाई पछि पार्दै यिनले हालै सम्पन्न फिल्म अवार्डमा उत्कृष्ट नायकको अवार्ड पनि जिते। आफूले अभिनय गरेका चलचित्रले धेरै राम्रो व्यापार नगरे पनि जीवनले एक पछि अर्को चलचित्र भने पाउँदै आएका छन्। उनी खाली हात बस्नुपरेको छैन। तर अहिले एउटा चलचित्रमा उनले देखाएको हर्कतका कारण जीवन चर्चाका पात्र बनेका छन्।
                        प्रसंग हो चलचित्र सुकुलगुण्डाको। सुकुलगुण्डा चलचित्र धेरै पहिले निर्माता प्रदीप उदयले निर्देशन गर्ने भनी चर्चामा आएको चलचित्र हो। जुन
चलचित्रलाई रमेश बस्नेतलगायतका तीनजना निर्माताले मिलेर निर्माण गरिरहेका छन्। चलचित्र निर्माण हुनुअघि नै नायिका इन र आउटको घटनाले सुकुलगुण्डाको चर्चा धेरै भएको छ। प्राप्त समाचारअनुसार सुकुलगुण्डामा पहिले नायकमा जीवन लुइँटेल र नायिकामा सारिका घिमिरेलाई लिने तय भएको थियो। सारिकाले हालै रिलिज भएको चलचित्र रक्षामा अभिनय गरेकी थिइन्। नायकमा जीवन पक्का भए पनि निर्माताहरू भने अर्की नायिकाको विषयमा निर्णयमा पुगेका थिएनन्। यही मेसोमा नायक जीवनले मुख्य नायिकामा निश्मा घिमिरेलाई लिन निर्मातालाई दबाब दिए। त्यसका लागि उनी आफ्नो पारिश्रमिक घटाउन पनि राजी भए। जीवन अहिले एउटा चलचित्र खेलेबापत पाँच लाख रुपैयाँ पारिश्रमिक लिने गर्छन्। तर निश्माका लागि जीवनले तीन लाख रुपैयाँ पारिश्रमिक लिन तयार भएको कुरा यतिखेर नेपाली चलचित्र क्षेत्रमा चर्चाको विषय बनेको छ।
                             जीवन विवाहित नायक हुन्। तर केही समययता उनीसँग नायिका निश्मा नजिकिएको बताइन्छ। निश्मा निर्देशक विकास आचार्यको खोज हुन्। विकासले आफ्नो पछिल्लो सफल चलचित्र रिदममा निश्मालाई नायिका खेलाएका थिए। सोही चलचित्रमा अभिनय गर्दादेखि जीवन र निश्मा आपसमा नजिएको स्रोतले बतायो। जीवन निश्माका लागि पारिश्रमिक घटाउन तयार भए पनि निर्माताको रोजाइ भने अर्की नायिका रहेको स्रोतले बतायो। अहिले निर्माताको रोजाइकी नायिकाकै कारण निश्मा सहायक नायिकामा खुम्चिन पुगेको र सारिका भने चलचित्रबाटै आउट हुन पुगेको बताइएको छ। सारिका घिमिरेलाई आउट र निश्मालाई सहायक भूमिकामा खुम्च्याउन सफल युवती हुन् खुश्बु खड्का। खुश्बु नेपाली चलचित्र क्षेत्रमा चिरपरिचित नाम भने होइन। उनले यसअघि दिनेश थापाको एटीएम चलचित्रमा चौथो नायिकाको भूमिका निभाएकी थिइन्। रूप र अभिनय राम्रो नभए पनि उनी अहिले सुकुलगुण्डाको मुख्य नायिका बन्न सफल भएकोमा चलचित्र क्षेत्रमा चर्चाको विषय बनेको छ।
                        स्रोतका अनुसार सुकुलगुण्डा निर्माण पक्षले एटीएमलाई अश्लील चलचित्रको दर्जा दिएर त्यसमा अभिनय गर्ने कुनै पनि नायिकालाई आफ्नो चलचित्रमा नखेलाउने घोषणा गरेको थियो। एटीएममा सविना कार्की, जिया केसी, सोनिया शर्मा र खुश्बुले अभिनय गरेका थिए। खुश्बुको सो चलचित्रमा थोरै दृश्य थियो। तर पछि एटीएमकै चौथो नायिका सुकुलगुण्डाको मुख्य नायिका बन्न पुगेकी छन्। खुश्बु र निर्माता रमेश बस्नेतबीच अहिले अति घनिष्ट सम्बन्ध रहेको चलचित्रकर्मीहरूबीच चर्चा परिचर्चा चल्ने गरेको छ। चलचित्र क्षेत्रमा आउनुअघिदेखि नै खुश्बुको ठमेलमा डान्स रेस्टुरेन्ट रहेको बताइन्छ। खुश्बुसँग आधा दर्जन युवतीहरू रहेको र त्यसकै बलमा खुश्बुको नेपाली चलचित्र क्षेत्रमा विस्तारै प्रभाव बढ्दै गएको चलचित्रकर्मीहरू बताउँछन्।
यता, सुकुलगुण्डाबाट आउट हुन पुगेकी सारिका घिमिरे भने नयाँ चलचित्र निर्माण गर्ने मनस्थितिमा पुगेकी छन्। यसअघि पनि उनले एउटा चलचित्र निर्माण गरेर २० लाख रुपैयाँ स्वाहा पारिसकेकी छन्। उनले बनाएको हत्याकाण्ड चलचित्रबाटै पोखराका राजु गिरी निर्देशक बनेका हुन्। सारिकाले राजुले नै निर्देशन गरेको रक्षा चलचित्रमा अभिनय गरेकी थिइन्।