SUSHIL-KOIRALA                    काठमाडौ। संविधानसभाको आगामी निर्वाचन हुन्छ कि हुन्न, पार्टी सभापति सुशील कोइरालाले चुनाव जित्ने हो कि होइन, निश्चित नभए पनि उनी प्रधानमन्त्री बन्ने पक्का भएको पुर्जी आएको महाराजगन्जमा चर्चा चल्न थालेको छ।
                  भारत भ्रमणबाट फर्केको भोलिपल्टै अर्थात् गत शनिबार बिहान केन्द्रीय सदस्यहरूलाई भ्रमणका उपलब्धि ब्रिफिङ गर्दै कोइरालाले भने– ‘साह्रा शंका उपशंका निवारण भएका छन्, संविधानसभाको निर्वाचनबाट आउने परिणामबारे उनीहरूको आफ्नै विश्लेषण रहेछ, नेपाली कांग्रेसको नै बहुमत आउने आँकलन भारतका नेताहरूले
गरेको देखियो। प्रायः रिसाएको जस्तो, भोकाएको जस्तो गम्भीर अनुहार बनाएर प्रस्तुत हुने कांग्रेस सभापति कोइराला शनिबार बिहान आफ्नै निवासमा बसेको बैठकमा चाहिँ ज्यादै संतृप्त मुद्रामा देखिएका थिए। भारत भ्रमणमा सँगै गएका उनका सहयोगी लक्ष्मण ढकाल चाहिँ बैठकमा सहभागी थिएनन्। सभापति कोइराला, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाकै पंक्तिमा भारत सरकार र नेताबाट सम्मान पाएका र सबै भेटघाटमा सँगै रहने अवसर पाएका ढकालसँग अंकमाल गर्न केन्द्रीय सदस्यहरूसमेत तँछाड–मछाड गरिरहेका थिए। नेपाली कांग्रेसको इतिहासमा केन्द्रीय सदस्यभन्दा सभापतिको निजी सचिव पावरफुल बनेको पहिलो नजिर भएको टिप्पणी गर्नेहरू पनि प्रशस्त थिए। यद्यपि कोइराला क्याम्पका केही भित्रियाहरू उनीविरुद्ध लागिनै रहेका छन्।
                          सभापति कोइराला पदमा निर्वाचित भएको तीन वर्ष बित्न लाग्दा भारतले समेत भ्रमणका लागि आमन्त्रण नगरिदिँदा र वरिष्ठ नेता शेरबहादुर देउवालाई औपचारिक भ्रमणका लागि आमन्त्रित गरिँदा कोइराला परिवारमा निकै चिसो पसेको थियो। अचानक कोइराला परिवारमा ‘राष्ट्रियताको भावना’ जागृत हुन थालिसकेको थियो। तर यो भ्रमणले कोइराला परिवारमा छाएको निराशा मात्रै हटेको छैन, अचानक पलाएको ‘राष्ट्रियताको भावना’ तत्कालका लागि स्थगित भएको छ। भारतको सहयोग अपरिहार्य रहको कुरामा कोइराला परिवार अब एकढिक्का देखिएको छ। एमाओवादी अध्यक्ष पुष्पकमल दाहालबाट सुरु भएको भारत भ्रमण कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल हुँदै कांग्रेस सभापति कोइरालाको भ्रमणपछि टुंगिएको छ। तर मुलुकका लागि उपलब्धिमूलक सन्देश कुनैले ल्याउन सकेका छैनन्। भारतको चाहना मंसिर ४ गते चुनाव होस् भन्ने छ, त्यो मितिमा चुनाव हुन्छ, हुन्छ, हुन्छ भन्नेबाहेक कुनै नेताको मुखबाट नयाँ कुरा आउन नसक्नु दुःखद् हो, एक कूटनीतिज्ञले भने।
                      यता, भारत भ्रमणका क्रममा कोइरालालाई कंग्रेस आईकी अध्यक्ष सोनिया गान्धीले आर्थिक सम्भाव्यताका आधारमा थोरै प्रान्त/राज्यहरू बनाउँदा राम्रो हुने बताएको भ्रमणका संलग्न महामन्त्री सिटौलाले सञ्चारमाध्यमलाई बताएका थिए। तर भ्रमणबाट फर्केकै दिन सभापति कोइरालाले गान्धीसँग त्यस्तो कुनै कुरा नभएको बीबीसीसँगको अन्तर्वार्तामा स्पष्ट पारे। कोइरालाले भनेका थिए, ‘संघीयता हामीले निर्णय गर्ने कुरा हो।’ यसपछि गान्धीसँग हुँदै नभएको कुरा कसरी मिडियामा आयो, कांग्रेसभित्र चर्चा छ।