congress flag                         काठमाडौं। आगामी मंसिर ४ गते चुनाब हुने कुनै ठेगान नभए पनि नेकांका नेताहरुलाई कसरी चुनाब जितेर पदमा पुग्ने भन्ने चिन्ताले सताउन थालेको देखिएको छ। आगामी निर्वाचनलाई केन्द्रबिन्दुमा राखेर नेपाली काँग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले पार्टी केन्द्रीय कार्यालयमा गत साता अयोजना गरेको राष्ट्रिय प्रशिक्षक प्रशिक्षणमा निर्वाचन रणनीति र संगठन विस्तारका बारेमा केन्द्रित रहेको छ। ती विषयमा सहभागीहरूले समूहमा छलफल गरी पार्टीलाई सुझाव समेत दिएका छन्। गत साउन १२ गतेबाट शुरु भएको सो प्रशिक्षणमा अधिकांश बक्ताहरुले चुनाबमा कसरी
जित्ने भन्ने चिन्ता मात्र ब्यक्त गरेका थिए। देशभरका ७५ जिल्लाबाट आएका तथा भ्रातृसंस्थाका प्रतिनिधि गरी ३०० बढीको सहभागिता रहेको सो प्रशिक्षणको छलफलमा महामन्त्री कृष्णप्रसाद सिटौलाले प्रशिक्षणका सहभागीहरूले भदौ १५ गतेभित्र जिल्ला, क्षेत्र, गाउँ, नगर र वडा तहसम्म पुगेर निर्वाचन र संगठन विस्तारका बारेमा थप प्रशिक्षण अभियानका रूपमा विस्तार गर्नुपर्ने बताउनुभएको थियो। प्रशिक्षण कार्यक्रमले पार्टीभित्र वृहत ऊर्जा, संगठन विस्तार पार्टीको निर्वाचन अभियानलाई देशव्यापी बनाउन योगदान पुर्‍याएको बताइएको छ। महामन्त्री सिटौलाले आगामी निर्वाचनमा पार्टीलाई जिताउन नेता कार्यकर्ताको बढीभन्दा बढी सक्रियताको खाँचो रहेको बताउँदै प्रशिक्षणका माध्यमबाट संगठन विस्तारमा लाग्न आग्रह पनि गर्नुभएको थियो। सो अवसरमा सहभागीहरूले पार्टीका नेता कार्यकर्ता तथा शुभेच्छुक र भातृसंस्थाको सहयोगमा पार्टीको मतदान केन्द्रसम्म सुरक्षा समूह गठनगर्न, स्थानीय तहमा उम्मेदवारी चयनका क्रममा हुने विवाद मिलाउन र प्रचारप्रसारमा विशेष कार्यक्रमसहित जानुपर्ने धारणा राखेका थिए। कार्यक्रममा डा यज्ञ अधिकारीले लोकतान्त्रिक समाजवाद र साम्यवादबीचको अन्तर, डा विष्णुशङ्कर पौडेलले संगठन विस्तारमा नेता कार्यकर्ताले गर्नुपर्ने व्यवहार, माधवी कटवालले नेतृत्व विकास र महिला सशक्तीकरणमा दलहरूको भूमिका, उत्तरकुमार चापागाईँले चुनावी रणनीतिको प्राविधिक पक्ष, यदुनाथ खनालले निर्वाचनका लागि कानूनी प्रावधान तथा चुनाव अभियान र व्यवस्थापनका पक्षमा धन खतिवडा, नागिना यादव, डा. राम थपलिया, अख्तर मोहमद र विक्रम खनालले बेग्लाबेग्लै कार्यपत्रहरू प्रस्तुत गर्नुभएको थियो।