Friday, September 20, 2013

कमरेडहरूको वर्ग रूपान्तरण देख्दा मन रुन्छ - पूर्वलडाकु


prachanda-baburam                        मेरो जीवनको ४७ वर्षमध्ये दस वर्ष त राज्यसत्तासँगको सशस्त्र युद्धमै बिते भने शान्ति प्रक्रियायताका सात वर्ष पनि पार्टीभित्रको वर्गीय युद्धमै गुजेरका छन्। सर्वहारा वर्गको उन्नतिका लागि छँदाखाँदाको मास्टरी छाडेर ०५२ सालमा युद्धमा होमिएँ। सामन्ती राज्यसत्ताको परिवर्तन, वर्गीय असमानताको अन्त्य र आम जनताको हक, अधिकार र स्थापित गर्ने सपना पूरा गर्न आफ्नो सर्वश्व गुमाउँदा पनि आनन्द लागेको थियो। पार्टी नेतृत्व नै सबथोक हो भनेर तत्कालीन नेकपा (माओवादी)को झन्डा
सिरानीमा राखेर वर्गीय मुक्तिका लागि शत्रुका घेरा तोड्दै चौकी आक्रमणमा होमिएँ। आफ्नो ज्यानको बाजी लगाएँ, आफन्त नातेदार गुमाएँ। यी सबै सत्य घटना अझै ताजा छन् तर सबै दन्त्य कथाजस्तो लाग्छ। र, म त्यही दन्त्य कथाको एउटा पात्र जस्तो!
                     जाजरकोटको लाँहा गाविस, जहाँ म जन्मिएँ, ममा राजनीतिको चेतनाको विकास हुँदा त्यहाँ जनमोर्चाको प्रभाव थियो। म जन्मिएको परिवार सम्पन्न नभए पनि विपन्न पनि थिएन। बिहान–बेलुकी खान लाउन कुनै समस्या थिएन। गाउँमा प्रवेशिका उत्तीर्ण पहिलो म नै थिएँ। प्रवेशिकापछि गाउँमै मास्टरी पनि सुरु गरें। ०४८ को आमनिर्वाचनमा जनमोर्चालाई सघाएँ। ०५२ सालमा माओवादीले ‘जनयुद्ध’ सुरु गर्‍यो। पहिलो दिन नै रुकुमको रारी चौकी आक्रमण गरे। जनमोर्चा बाहुल्य गाउँ भएकाले प्रहरीले चौकी आक्रमणको
               आशंकामा फागुन ३ गते नै हाम्रो गाउँमा सर्च सुरु गर्‍यो। गाउँमा बस्ने वातावरण भएन, जागिर छाडेर गाउँ छाड्ने निधो गरें। ०५८ सालमा पहिलो पटक संकटकाल घोषणा गरेको दिन प्रहरीले मेरो घरसँगै जोडिएको विद्यालयमा अन्धाधुन्ध आक्रमण गर्दा आठ जना मारिए। त्यसपछि दाजु–भाउजू पनि भागेर भारततिर पलायन हुनुभयो।
                  काँसका थालमात्र ६८ वटा थिए। थाल, कचौरा, अम्खोरा आदि सबै काँसका मात्र थिए। गाई, भैंसी, भेडा बाख्राका साथै सबै ओढ्ने ओच्छ्याउने सामग्री पनि पार्टीले लियो। मलाई त्यसबेला कुनै अफसोच थिएन। तर, शान्ति प्रक्रियामा आएपछि नेताहरूको आर्थिक हैसियतमा आएको परिवर्तन, कार्यकर्तालाई गर्ने व्यवहार देख्दा विरक्त लाग्छ।
          हामीले महान् नेता मानेको प्रचण्डका स्वकीय सचिव शक्ति बस्नेत मेरै जिल्लाका हुन्। शान्ति प्रक्रियापछि मैले पनि उनीसँगै रहेर काम गरें। झलनाथ खनाल नेतृत्वको सरकारका पालामा शक्ति बस्नेत पनि मन्त्री भए। आफूले जसको निकटमा रहेर काम गरेको थिएँ, उही मान्छे मन्त्री बन्दा खुसी नहुने कुरै भएन। तर, मेरो त्यो खुसी क्षणभरमै खोसियो। उनी मन्त्री भएपछि डेरा–डण्डा मन्त्री निवासतिरै सारियो। मन्त्री क्वार्टर सरेपछि पुरानो डेरा खाली भयो, म त्यही डेरामा बसें। तर, राति उनका दाजु रमेश बस्नेत आएर ‘भाइले तलाई  यहाँ नबस् भनेको छ, कोठा खाली गर्नुपर्‍यो’ भने। अनि त्यो डेरा मैले छाडिदिएँ।
               त्यहाँबाट निकालिएपछि नेत्रविक्रम चन्दको डेरामा गएर बसें। दुई महिनाजति त्यहाँ बसेपछि किरण कमरेड र विप्लव कमरेडले जोरजाम गरेर ५–६ हजार रुपियाँ दिनुभयो, त्यही बोकेर जिल्ला फर्कें।
पार्टी र नेताले मलाई दिएका पीडा सम्झेर साध्य छैन। पार्टी शान्ति प्रक्रियामा आएपछि म पनि ब्यारकेमा आएँ। ‘तँ उमेरले अलिक बुढो मान्छे, बाहिर बस्नु’ भनेपछि बाहिर निस्किएँ। सुर्खेतस्थित छैटौं डिभिजनको दोस्रो बटालियन कमिसार भए पनि पार्टी निर्णयअनुसार अनमिनको प्रमाणीकरण अघि नै व्यारेकबाट बाहिरिएँ। पार्टीले  त्यसपछि मलाई भेरी–कर्णाली क्षेत्रको आर्थिक विभागमा राख्यो।
तीन छोरा, एक छोरी, श्रीमती– परिवार ठूलै थियो। सम्पत्ति पार्टीलाई बुझाइसकेको हुनाले छोराछोरी पाल्न, पढाउन–लेखाउन ठूलो समस्या थियो। आखिर, पार्टी भनेर मात्र न परिवारको पेट भरिन्थ्यो, न त शिक्षादीक्षाको कुनै सामान्य चाँजापाँजो नै हुन्थ्यो। पार्टीका नाममा उठाउने र कुम्ल्याउने अरू कतिपय ठूला आफ्नै पार्टीका नेताले गरेजस्तो हर्कत गर्न पनि म सक्तिनथें। जीविका चलाउनकै लागि ५–६ लाख रुपियाँ ऋण खोजेर होटल सुरु गरें। एक वर्षभित्र ऋण तिर्ने कागज गरेको थिएँ। त्यसबेला शक्ति बस्नेतले पनि ५० हजार रुपियाँ हालिदिएका थिए। तर, त्यसको दुई महिना नबित्दै पार्टीभित्र दुई लाइन संघर्ष चल्यो। प्रचण्ड–बाबुरामको नवधनाढ्य, नवसंशोधनवादी गुटको समर्थन गर्न मेरो राजनीतिक इमानले पनि दिँदैनथ्यो। त्यसपछि ऋण लिएको ६ महिना नबित्दै ‘साहू’हरूले ऋण चुक्ताको कचकच सुरु गरे। ‘साहू’ सबै प्रचण्ड बाबुराम गुटका नेता–कार्यकर्ता थिए। मैले समस्या सुल्झाइदिनुपर्‍यो भन्दै क्षेत्रीय कमिटीमा कुरा राखें। प्रचण्डलाई निवेदन दिएँ। हेडक्वार्टरको सचिव शक्ति बस्नेत थिए। उनलाई पनि निवेदन थमाएँ। तर, जति गरे पनि मेरो कुरा सुनिएन। युद्धमा जसलाई सर्वोच्च ठानेर, आफूले खाइ–नखाइ गाउँ पसेर खाना जोहो गरेर स्याहार गरियो, तिनै नेताले मेरो भोको पेटमा लात मारे। एमाओवादीका स्थानीय नेता–कार्यकर्ताले मेरो होटल कब्जा गरे। मेरो रोजीरोटी खोसे।
उपाय केही नभएपछि काठमाडौंमा शक्ति बस्नेतकोमा आएको थिएँ, त्यहाँ पनि व्यवहार राम्रो नभएपछि कोटेश्वरमा खाना–नास्ता पसलमा पनि काम गरें। त्यो होटल सुर्खेतकै साथीहरूको थियो। मासिक ६ हजार दिन्थे। त्यसले परिवार धान्न नसकेपछि अहिले जाजरकोट नै फर्केर खलंगामा पुनः होटल सुरु गरेको छु। यो होटल चलाउन जनसेनाबाट बहिर्गमन भएका केही साथीले आर्थिक सहयोग गरेका छन्।
युद्धका क्रममा ३३ पटक प्रहरी घेराबाट उम्केर ब्याजको जिन्दगी कटाइरहेको छु। रामेछाप, रारा लेक, खारा क्याम्पजस्ता दर्जनौं आक्रमणमा सहभागी भएँ। बढी समय कमिसार भएकाले बम बारुदको व्यवस्थापनमा बढी जिम्मेवारी सम्हाल्नुपर्थ्यो। शान्ति प्रक्रियामा आएपछि केही समय ब्यारेकमा बस्दा पनि धेरै पीडादायी घटनाको प्रत्यक्षदर्शी भएँ। प्रचण्ड–बाबुराम गुटका ठूला भनिनेहरूले लडाकुहरूको खुट्टा भाँच्ने गरी पिट्थे, यातना दिन्थे। एउटै कमान्डरले करोडौंको खाता खोलेको कुरा पनि सुनियो। युद्धमा हुँदा समान व्यवहार हुन्थ्यो, तर शान्ति प्रक्रियापद्धि त्यसमा १ सय ८० डिग्रीको परिवर्तन आयो।
हामीले जसलाई नेता मान्यौं, अहिले उनीहरू नवसंशोधनवादी भासमा परिसके। एमाओवादी नेताका जीवनशैली हेर्दा १० बर्से युद्ध दन्त्थयकथा रहेछ जस्तो मात्र लाग्छ। अहिले शक्ति बस्नेत मेरो जिल्लाबाट उठ्दैछन् भन्ने सुन्दैछु। तर, उनी जिल्ला आएकै छैनन्। यहाँ छिर्नसक्ने अवस्थासमेत छैन।

No comments:

Post a Comment