Lilamani-poudel   काठमाडौं, पुस ५ सडकको दायाँ भागबाट मात्र ओभरटेक गरौँ, ट्राफिक नियमको पालना गरौँ भन्ने चेतनामूलक सन्देश लेखिएको स्टिकरलाई आफ्नै सवारीसाधनमा टाँसेर शनिबार दरबारमार्गमा उद्घाटन गरेका नेपाल सरकारका मुख्यसचिव लीलामणि पौडेलले दुर्घटना न्यूनीकरणका लागि जनचेतना सबैभन्दा सर्वोत्तम कुरा भएको बताएका छन्। 
                     सडक सुरक्षा समाज, जाइका नेपाल र रोटरी इन्टरनेसनल डिस्ट्रिक ३२५२ नेपालको सहकार्यमा आयोजित कार्यक्रममा मुख्यसचिव पौडेलले देशको आन्तरिक द्वन्द्वमा हुने क्षतिमा भन्दा सडक दुर्घटनामा हुने क्षति बढिरहेको बताएका थिए। सडक दुर्घटनाको न्यूनीकरणका लागि ठोस कार्य गर्न नसकिए त्यसबाट धेरैको ज्यान जानुका साथै अङ्गभङ्ग हुने भएकाले
न्यूनीकरणका लागि सबै सम्बन्धित निकायलाई चनाखो हुन आग्रहसमेत गरेका थिए, मुख्यसचिव पौडेलले बढ्दो सहरीकरण, अस्तव्यस्त सडक, सडक प्रयोगकर्ताको चरम लापरबाही, ट्राफिक नियमको उल्लङ्घनका कारण दुर्घटनामा वृद्धि हुँदै गएकाले त्यसलाई न्यूनीकरण गर्नका लागि राखिएको यो चेतनामूलक कार्यक्रम प्रशंसनीय रहेको बताएका थिए। चेतनामूलक उद्घाटन कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात र सहरी मन्त्रालयका सचिव तुल्सी सिटौलाले नयाँ बसपार्कमा स्वयम्सेवकसँगै सवारीसाधनमा स्टिकर टाँस्ने कार्यमा सक्रिय भएका थिए। नवनियुक्त प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले सडक दुर्घटनाको कहालीलाग्दो अवस्थालाई सुधार गर्न सामूहिक प्रयास रहेको बताउँदै त्यसका लागि नेपाल प्रहरी चौबीसै घण्टा खट्न तयार रहेको बताएका थिए। रोटरी इन्टरनेसनल पाँच डिष्ट्रिकका गभर्नर रत्नमान शाक्यले नेपाललाई पोलियोमुक्त राख्न जसरी रोटरी अहोरात्र लागेको छ त्यसैगरी सडक दुर्घटना रोक्नका लागि पनि सम्बन्धित निकायसँग हातेमालो गरेर अघि बढ्न तयार रहेको बताएका थिए। सरकारी तथ्याङ्कअनुसार गत वर्ष सडक दुर्घटनाबाट एक हजार आठ सयको मृत्यु भएको जनाइएको छ। सवारीचालकको लापरबाहीबाट मृत्यु हुनेको सङ्ख्या जति छ त्यसको दाँजोमा अङ्गभङ्ग हुनेको सङ्ख्या पनि तेब्बरजस्तै रहेको छ। यो सबै सवारीचालकले ट्राफिक नियम उल्लङ्घन गरी ओभरकेट गरेकै कारण हो। चेतनामूलक उद्घाटन कार्यक्रम भएको दिन महानगरीय ट्राफिक महाशाखाका प्रहरी नायव महानिरीक्षक केशव अधिकारी, सडक सुरक्षा नेपालका अध्यक्ष कुशकुमार जोशी, घटना र विचारका सम्पादक बबिता बस्नेत, ट्राफिक प्रहरीका जवानदेखि अधिकृत हुँदै विभिन्न स्वयम्सेवकले दरबारमार्ग, कोटेश्वर, जडीबुटी, सातदोबाटो, नयाँ बसपार्क, कलङ्की, गोंगबुलगायतका ठाउँमा साना तथा ठूला सवारीसाधनमा स्टिकर टाँसेका थिए।