Friday, December 13, 2013

बैद्य माओवादीले संघर्षको नयाँ रणनीति बनाउने

            २८ मंसिर, काठमाडौं । नेकपा-माओवादीको जारी केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्यहरुको बोल्नेक्रम जारी रहेको छ । आइतबारदेखि ललितपुरको कुपण्डोलस्थित माओवादीको नेवाः राज्य समितिको कार्यालयमा जारी बैठकमा अध्यक्ष वैद्यले प्रस्तुत गर्नुभएको जनयुद्धको जगमा जनविद्रोहको कार्यदिशा र संविधानसभा विघटन गरी सर्वपक्षीय सम्मेलनबाट संविधान लेखिनुपर्ने तत्कालीन कार्यनीतिसहितको लिखित प्रतिवेदनमाथि केन्द्रीय सदस्य र केन्द्रीय सल्लाहकारहरूले आ-आफ्ना धारणा राखिरहेका छन् ।
         एकसय ५१ सदस्यीय केन्द्रीय समितिका सदस्य र ३५ सदस्यीय सल्लाहकार समितिका सदस्यमध्ये बिहीबारसम्ममा ८० जनाभन्दा बढीले आ-आफ्ना धारणा राखिसकेको र बाँकी बोल्न इच्छुक सदस्यहरूले सम्भवतः आजसम्ममा आˆनो धारणा राखिसक्ने माओवादी पोलिटव्युरो सदस्य हरिभक्त कँडेलले जानकारी दिनुभयो ।केन्द्रीय सदस्य र सल्लाहकारहरूले दिएको सुझावअनुसार अध्यक्ष वैद्यको प्रतिवेदन परिमार्जनसहित पारित गर्दै बैठक शनिबार
सम्पन्न हुने उहाँले बताउनुभयो ।
         बैठकमा बोल्ने अधिकाँश केन्द्रीय सदस्यले अध्यक्ष वैद्यको प्रतिवेदनमा समर्थन जनाउँदै पार्टीले सङ्घर्षको विस्तृत खाका ल्याउनुपर्ने सुझाव दिएका छन् । उनीहरूले संविधानसभा यथास्थितिवादीको हातमा गइसकेकाले मनोनित भएर संविधानसभामा पार्टी सहभागी हुन नहुने, राष्ट्रियता पक्षधर र सङ्घीयतावादीको बृहत मोर्चा बनाएर अगाडि जानुपर्ने, पार्टीभित्र देखिँदै गएको अस्तव्यस्तता र अराजकताको अन्त्य गर्नुपर्नेलगायतका सुझाव दिएका छन् ।
                उनीहरूले जनविद्रोहका लागि वस्तुगत स्थिति बन्दै गएको र त्यसका लागि मनोगत स्थिति तयार पार्ने गरी कार्यक्रम ल्याउन पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

No comments:

Post a Comment