Sunday, January 5, 2014

चीनले मिलाईदेला दुई माओवादीलाई !

Prachanda-with-kiran                     २२ पुस, काठमाडौं । निर्वाचनपछि एकीकृत माओवादी र नेकपा–माओवादीबीच दुरी झन् बढे पनि चीनले पहल गरिदिए एकता हुन सक्ने आश दुवै पार्टीका नेताहरूमा पलाएको छ। हालै नेपाल भ्रमणमा आएका चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री आई पिङले दुवै माओवादीलाई वैधानिक राजनीतिक प्रक्रियामै रहेर संविधान निर्माणमा सहमति गर्न दबाब दिँदै कार्यनीतिक रूपमा नजिक भएर पार्टी एकतामा जानसमेत सुझाव दिएका थिए। आर्थिक सहयोग र लगानीमार्फत प्रभाव विस्तार क्रममा रहेको चीन अझै पनि माओवादीहरू एक भएर अगाडि बढे नेपालको शक्ति सन्तुलन आफ्नो सुरक्षा चासोअनुकूल बनाइराख्न सहज हुने ठान्छ। गणतन्त्र स्थापनापछि नेपालमा भारतको परम्परागत प्रभाव र अमेरिकी सक्रियतालाई
सन्तुलन गर्ने प्रयास गर्दै माओवादीहरूले ‘फ्रि तिब्बत’ गतिविधि रोक्न राम्रो साथ दिएको चीनको बुझाइ छ। माओवादी कमजोर हुँदा नेपालमा आफ्नो प्रभाव कमजोर हुने देखेर दुई पार्टी एक गराउन भइरहेको प्रयासलाई चीनले निर्वाचनपछि भित्रभित्रै तीव्र पारेको बुझिन्छ।
                    निर्वाचनपछिको परिस्थिति अध्ययन गर्न चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा राष्ट्रपति सी जिन पिङको विशेष दूतका रूपमा नेपाल आएका उपमन्त्री आई पिङले काठमाडौंमा बढी समय माओवादी नेताहरूसँगै बिताए। एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल उपमन्त्री आईका पुराना मित्र हुन् तर कृष्णबहादुर महरालाई साक्षी राखेर लाजिम्पाटमा दुईपटक भएका भेटवार्ता पार्टी एकताको मुद्दामा केन्द्रित थिए। काठमाडौं आएपछि पहिला दाहाललाई भेटेका उपमन्त्री आई वैद्य नेतृत्वको नेकपा–माओवादीको टोलीसँग एकताको सम्भावनाबारे छलफल गरेपछि बेइजिङ उड्नुअघि फेरि लाजिम्पाट पुगे।
                    निर्वाचनअघि चीन सरकारका विदेश मामिला प्रमुख, स्टेट काउन्सिलर याङ जेइची तथा निर्वाचनलगत्तै नेपाल आएका चीनको विदेश मन्त्रालयमा बाह्य सुरक्षा विभागका निर्देशक छ्यू गोहाङले पनि डेढ वर्षअघि विभाजन भएका माओवादीलाई एकता गराउन भइरहेको प्रयासलाई निरन्तरता दिएका थिए।
एमाओवादी विभाजन भएर नेकपा–माओवादी बनेयता चीनले दुई पार्टीबीच एकता गराउन अनौपचारिक प्रयास गर्दै आएको छ। यसपालि भने दबाबकै रूपमा त्यसलाई देाहोर्यानएको महसुस केही नेताले गरेका छन्। ‘आई पिङले यसपालि सुझाव मात्र दिएनन्,’ एमाओवादीका एक नेताले भने, ‘पार्टी एकता गर्नुस् भनेर वैद्यजीहरूलाई प्रस्ट किटेरै भनेका छन्।’
                       अध्यक्ष दाहाल र बाबुराम भट्टराई भारतले निर्वाचन हराइदिएको भन्दै भित्रभित्रै आक्रोशित छन्। यस्तो अवस्थामा दुई पार्टी एकतामा पहल गरिदिँदा दाहाल–भट्टराईप्रति चीनले ठूलो गुन लगाएको ठहरिने र उनीहरूलाई भारततिर अझ बढी ढल्किन त्यो एउटा नैतिक बन्धन पनि हुन सक्नेछ।
               एमाओवादीले निर्वाचनपछि पार्टीभित्र र बाहिरबाट कडा चुनौती सामना गरिरहेको बताउँदै सेन्टर फर स्ट्राटेजिक स्टडिज अफ चाइनाका उपनिर्देशक मा जियलीले भने, ‘एमाओवादीले कसरी नयाँ गति प्राप्त गर्ने भन्नेबारे सोच्नुपर्छ, धेरै नागरिकको समर्थन र विश्वास प्राप्त गर्न अर्को पार्टीसँगको एकता महत्वपूर्ण साबित हुनसक्छ।’
                    सर्वपक्षीय राजनीतिक सम्मेलनको माग गरे पनि संविधान निर्माणको विपक्षमा प्रस्टसँग उभिन सकेका छैनन् वैद्य। नेकपा–माओवादीको राजनीतिक अलमलबारे जानकार चिनियाँहरू अब उसले एउटा प्रस्ट बाटो समात्नैपर्ने र त्यो वैधानिक हुनुपर्ने मान्यता राख्छन्। नेकपा–माओवादी जंगल गए समस्या फेरि बल्भि्कने र एमाओवादीले सडकलाई प्रमुखता दियो भने शान्ति र संविधान निर्माण प्रक्रिया टुंगो नलाग्ने तथा देश अनिश्चिततामा फस्न सक्ने आँकलन चीनको रहेको नागरिक दैनिकमा खबर छ।
                    नयाँ परिस्थितिमा दुवै पार्टीको नाडी छाम्ने प्रयास गरेका आईले डिल्लीबजारमा वैद्य माओवादीका एक हुल नेतासँगको भेटवार्तामा ‘वैधानिक राजनीतिक प्रक्रियामै रहेर संविधान निर्माणमा जुटे’ चीनको सद्भाव रहिरहने बताएका थिए। निर्वाचन बहिस्कार गरेको नेकपा–माओवादीलाई समेत संविधान निर्माण प्रक्रियामा समेट्न सके दुई माओवादीलाई नजिक ल्याउन सकिने चीनको बुझाइ हुनसक्छ। नेकपा–माओवादीलाई वैधानिक प्रक्रियामै रोक्न, नेपाललाई संविधान निर्माण र राजनीतिक स्थिरतातर्फ अगाडि बढाउन र आफ्नो लगानी र सुरक्षा सहयोग सुदृढ गर्नसमेत माओवादी एकताले रणनीतिक बल पुग्ने विश्लेषण चिनियाँ विज्ञहरूको छ।
                     निर्वाचनपछि एमाओवादी अध्यक्ष दाहाल र नेकपा–माओवादी अध्यक्ष मोहन वैद्यबीच भेटवार्ता भई सहकार्य र एकताको प्रयास सुरु भए पनि सार्थक हुन समय लाग्ने चिनियाँ बुझाइ छ। एमाओवादीमा दाहाल–भट्टराई विवाद चर्किएकाले आसन्न बैठकपछि मात्र वैद्यसँगको एकताबारे केही प्रस्ट हुनेछ। नेपाली कांग्रेस र एमालेलाई पनि एक हुन केही वर्ष लागेको स्मरण गर्दै बेइजिङका अर्का दक्षिण एसिया विज्ञले भने, ‘तत्कालै सम्भव देखिँदैन तर अर्को निर्वाचनअघि दुई माओवादी एक हुन सक्छन्।’
                     चिनियाँ अधिकारीहरूले पनि माओवादी एकता ‘वैचारिक असमानताभन्दा पावर सेयरिङको विवादमा अड्केको’ बुझेका छन्। नेकपा–माओवादीका नेताहरू पहिलेकै पदमा पुनर्बाहल हुने गरी अर्थात् मोहन वैद्य उपाध्यक्ष, रामबहादुर थापा महासचिवमै दोहोरिने सर्तमा एकता गर्न अप्ठेरो मानिरहेका छन्। त्यसमा सबभन्दा पेचिलो बनेका छन् नेत्रविक्रम चन्द, जो पार्टी एकतालाई आफू शक्तिमा उदाउने महत्वपूर्ण अवसरमा रूपान्तरण गर्ने प्रयासमा छन्। पद बाँडफाँटमा समझदारी नहुँदा पार्टी एकता गरेर निर्वाचनमा जाने वैद्यको प्रस्तावलाई चन्दले नै तुहाइदिएका थिए निर्वाचनअघि।
                 एकीकृत पार्टीमा अध्यक्षपछिको मुख्य कार्यकारी महासचिव पद सुनिश्चित गरिए जुनसुकै बेला एकता गर्न आफू तयार रहेको जनाउ चन्दले दाहाललाई मात्र होइन, चिनियाँ पक्षलाई पनि दिएका छन्। पार्टी विभाजनअघि र पछि चार–पाँचपटक गोप्य रूपमा चीन भ्रमण गरी उनले विद्रोहमा जाने रणनीति बोकेको नयाँ पार्टीलाई सहयोग जुटाउने प्रयास गरे। तर वैधानिक राजनीतिक मार्गमा हिँडे मात्र सहयोग गर्न सकिने आश्वासन चिनियाँ पक्षबाट पाएपछि पार्टी संगठन हेर्ने शक्तिशाली महासचिव पद पाए एकता गर्न तयार रहेको सन्देश पठाए।
                      पार्टी विभाजन भएयता बेइजिङ र काठमाडौंमा चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूसँग पटकपटक भेटेर एकताका लागि पहल गरिदिन दुवै माओवादीका नेताहरूले आग्रह गर्दै आएका छन्। भारतले पार्टी फुटाइदिएर माओवादीलाई कमजोर बनाउन खोजेको गुनासो गर्दै एकताका लागि चिनियाँ कम्युनिस्ट पार्टीसँग गुहार माग्ने अध्यक्ष दाहाल र वैद्यले कस्तो सहयोग खोजेका हुन् भन्ने कतै प्रस्ट्याएका छैनन्। तर माओवादी एकता नेपालको आन्तरिक मामिला भएकाले यसमा कतिसम्म संलग्न हुने भन्नेमा चीन सतर्क देखिन्छ। माओवादी नेताहरूसँग निरन्तर सम्पर्कमा रहेका चिनियाँविज्ञ भन्छन्, ‘एकताका लागि पहल गरिदिनुपर्योद भनेर नेपालका दुवै माओवादीले हामीलाई आग्रह गरेका छन् तर चीनले गर्न सक्ने त्यो त्यत्ति सजिलो काम होइन।’
                    चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा राष्ट्रपति सी जिनपिङले हालै माओको १२० औं जन्मोत्सवमा आफ्ना कमरेडहरूलाई माओ भगवान नभएको सम्झाएका थिए। ‘क्रान्तिकारी नेताहरू भगवानजस्तो पूजा गर्नका लागि थिएनन्, न त गल्ती गरेका कारण उनीहरूलाई पूरै अस्वीकार नै गर्न सकिन्छ’, सी जिनपिङको यो भनाइले अहिलेको चिनियाँ कम्युनिस्ट पार्टी र नेपालका माओवादीहरूबीच विचारको खाडल गहिरो रहेको देखाउँछ।
                       तर चार वर्षअघि चिनियाँ कम्युनिस्ट पार्टीसँग सम्बन्ध विकास गरेका नेपालका माओवादीलाई एउटा रणनीतिक साझेदारका रूपमा बलियो देख्न चाहन्छ चीन। नेपालको माओवादी शक्ति तिब्बत सुरक्षा रणनीतिमा सहयोगी हुने विश्वास बेइजिङमा छ। माओवादीहरू पनि भारत र अमेरिकी दबाब सामना गर्दै काठमाडौंको सत्ता नजिक रहन दोस्रो आर्थिक शक्ति चीनको साथ महत्वपूर्ण हुन सक्ने मान्यता राख्छन्। तर भूरणनीतिक बाध्यताले ल्याएको निकटता परिस्थितिअनुसार परिवर्तन भइरहन्छ।

No comments:

Post a Comment