काठमाडौं,चैत१०–नेकपा–माओवादीका
सचिव देब गुरुङले अन्तरबस्तुमा सहमति गरेर अहिलेकै संविधानसभाले संविधान
जारी गरे पनि आफ्नो पार्टीको आपत्ती नहुने बताएका छन् । नेकपा–माओवादीले
दोस्रो संविधानसभाबाट संविधान बन्नै नसक्ने बताइरहेका बेला सचिव गुरुङले
संविधानका अन्तरबस्तुमा सहमति गरेर अहिलेकै संविधानसभाबाट संविधान बन्न
सक्ने सम्भावना औल्याएका हुन् ।
‘संविधानसभाले यदि अन्तरबस्तुमा सहमति गरेर संविधान जारी गर्छ भने हाम्रो
पार्टीको त्यसमा कुनै आपत्ती हुँदैन’,राजधानीमा आज आयोजित एक कार्यक्रममा
गुरुङले भने,‘संविधानसभाका अन्तरबस्तुमा सहमति गरे संविधान कसरी जारी गर्ने
भन्नेमा हामी खुला छौं ।’ सबै दलको प्रतिनिधित्व हुने गरी गोलमेच सम्मेलन
गरेर सहमति हुने विषयमा सहमति गर्ने र सहमति नभएका विषयलाई स्पष्ट विधी
बनाएर जान सकिने तर्क गुरुङको छ ।
तर गुरुङले आफ्नो पार्टी लचिलो भएर प्रस्तुत भए पनि संविधानसभामा रहेको
दलहरुले त्यसका लागि तदारुकता नदेखाएको भन्दै आक्रोस पोखे । उनले संविधान
नभएर समस्या आएको नभइ सहमति नभएर समस्या आएको बताए । उनले दलीय संयन्त्र
बनाएर छलफल र सहमति गरे संविधान बन्ने भन्दै त्यसका लागि सहमति गर्न
नेकपा–माओवादी
तयार रहेको बताए ।
यसैबीच नेता गुरुङले एमाओवादी सिद्धान्त र व्यवहारमा स्खलित भएका कारण
पार्टी विभाजन भएको भन्दै एमाओवादीले आफुलाई रुपान्तर गरे पार्टी एकता हुने
स्पष्ट पारे । उनले पालुङटार बैठकको एजेण्डामा जान एमाओवादी तयार भए
एमाओवादीसँगको पार्टी एकतामा कुनै समस्या नहुने बताए ।‘हेटौडा महाधिवेशनबाट
एमाओवादीले जनवादी क्रान्तिको बाटो छाडेको छ,यदि त्यसमा एमाओवादीले सुधार
गर्छ भने एकता हुन्छ ।’ उनले दुई बुँदामा भएको कार्यगत एकताले पार्टी
एकताको सम्भावना बढेर गएको समेत बताए ।
No comments:
Post a Comment