Tuesday, July 1, 2014

भारतीय कांग्रेस र र‘अ’ले यसरी टुक्राउन चाहन्थ्यो नेपाल

र‘अ’ गुप्तचरको खुलासाः चुप छ सरकार र राजनीतिक दल
 काठमाडौं, असार १७ – इन्दिरा गान्धी नेतृत्वको भारतीय सरकार र भारतीय गुप्तचर संस्था र‘अ’ ले मिलेर नेपाललाई टुक्राउन चाहेको खुलासा भएको छ । र‘अ’ कै एक पूर्व अफिसरले आफ्नो किताबमा यसको खुलासा गरेका हुन् । भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालिसस् विङ ( र‘अ’) का पूर्व गुप्तचर आर के यादवले आफ्नो किताब ‘मिसन र‘अ’’ मा सिक्किमलाई भारतमा गाभेपछि नेपालको तराईलाई पनि टुक्राएर भारतमा मिसाउने योजना भारतीयहरुको रहेको खुलासा गरेका हुन् । यादवलाई यस कुराको जानकारी र‘अ’ कै संस्थापक निर्देशक आर.एन काओले गरेका हुन् ।यस किताबको अंश राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले समेत आफ्नो ट्वीटरमा सेयर गरेका छन् । उक्त किताबको एक अंशमा
लेखिएको छ,
‘काओले मलाई बताए कि सिक्किमलाई गाभेपछि नेपालको तराईलाई पनि भारतमा गाभ्ने योजना थियो किनभने त्यहाँ चीनको उपस्थितिमा वृद्धि भएको थियो । यसबाट तत्कालिन प्रधानमन्त्री इन्दिरा गान्धी पनि असन्तुष्ट थिइन् । सन् १९७५ तिर भारतमा बढी रहेको माओवादी उपस्थितिलाई थ्रेटका रुपमा काओले लिएका थिए । तर बीचमै भारतमा राजनीतिक अस्थिरता आयो र इन्दिरा गान्धीले सन् १९७५ को जुन महिनामा संकटकाल घोषणा गर्नुप¥यो । यसले गर्दा तराईलाई भारतमा गाभ्ने योजना तत्काल सम्भव हुन सकेन । भारतको आन्तरिक राजनीतिमा आएको अस्थितरताले गान्धीलाई बाह्य राजनीतिमा योजना बनाउने समय नै दिएन । त्यसपछि सन् १९७७ मा भएको भारतीय चुनावमा इन्दिरा गान्धी पराजित हुन पुगिन् र उनको पार्टी सत्तामा आउन असफल भयो र त्यसपछि नेपालको तराईलाई भारतमा गाभ्ने योजना त्यतिकै तुहिएको थियो ।’ त्यस्तै काठमाडौंबाट अपहरणमा परेको इन्डियन एयरलाइन्सको विमानका बारेमा पनि उनले रोचक खुलासा गरेका छन् । उक्त प्लेन अपहरणमा पर्नुभन्दा केही दिन पहिलेनै काठमाडौंमा रहेका र‘अ’ का एक गुप्तचरले प्लेन अपहरणमा पर्दैछ भन्ने सूचना दिएका थिए । तर यहाँ रहेका उनका सिनियरहरुले सो कुरा पत्ताएनन् र र‘अ’ को मुख्यालयमा यसको जानकारी नै पठाएनन् । जसले गर्दा प्लेन अपहरणमा पर्न गयो ।
आर के यादव र‘अ’ का निकै उत्कृष्ट गुप्तचरहरु मध्ये एक थिए । उनी सन् १९७३ मा र‘अ’ मा फस्ट क्लास अफिसरका रुपमा प्रवेश गरेका थिए । यादवले चीनका साथै राजस्थान र पञ्जाबमा काम गरेका थिए ।सन् १९८९ मा र‘अ’ छाडेका यादव र‘अ’ का संस्थापक निर्देशक आर एन काओ र उनका उत्तराधिकारी के शंकरन नायरसँग नजिक थिए । निकै गुपचुप राखिने र‘अ’ का विभिन्न गतिविधिहरु बारे उनले आफ्नो किताब ‘मिसन र‘अ’’ मा खुलासा गरेका छन् । मौन सरकार, चुपचाप दल यस्तो खतरनाक योजनाको खुलासा भएको यत्रो समय वितिसक्दा पनि नेपाल सरकार र राजनीतिक दलका नेताहरु भने मौन छन् । यस विषयलाई राष्ट्रियताको मुद्दा बनाएर संसदमा उठाउन पर्नेमा यसमा सबैजना मौनता साँधेर बसेका छन् । मै हुँ ‘सच्चा राष्ट्रवादी’ भन्ने नेताहरुले यसको विरोधमा एक शब्द पनि बोलेका छैनन् ।

No comments:

Post a Comment