गत शुक्रबारसम्म संक्रमण देखिएका करिब ४० हजार कुखुरा नष्ट गरिए पनि जोखिममा रहेको मानिएका सबै र्फमहरुको परिक्षण हुन सकेको छैन। संक्रमित कुखुरा समयमै नष्ट नगर्दा त्यसको लुकिछिपी बेचबिखन हुन सक्ने र त्यसले अरु कुखुरामा मात्रै होइन, मानव संक्रमणसमेत गराउन सक्ने जोखिम रहन्छ। गत मंगलबार राति मात्रै भक्तपुरका बिरामी कुखुरा काभ्रे लैजाँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएबाट पनि लुकिछिपी बेचबिखनका प्रयास भइरहेको पुष्टि हुन्छ। मानव स्वास्थ्यसँग जोडिएको संवेदनशील विषयमा केही व्यवसायीमा यस्तो संवेदनहीनता देखिनु दुर्भाग्य हो।
बितेका ६ वर्षमा बर्डफ्लु मुलुकभरि झन्डै १ सय ६ ठाउँमा देखिइसकेको छ। गत आर्थिक वर्षको कुरा गर्ने हो भने उपत्यकाका ३५ ठाउँमा बर्डफ्लु देखियो। यो तथ्यांकले प्रस्ट पारेको छ, बर्डफ्लुको संक्रमण पटक–पटक दोहोरिएको छ र यसले पटक–पटक सर्वसाधारणमा भय सिर्जना गरेको छ। एकातिर यसले मानव संक्रमण गर्न सक्ने जोखिम छ र त्यसबाट नागरिक त्रसित छन् भने अर्कोतर्फ यस रोगका कारण राम्ररी फस्टाएको मानिएको कुखुरापालन व्यवसायसमेत धरापमा पर्दै गएको छ। यसबाट कैयौं कुखुरापालन व्यवसाय गरिरहेका कृषकहरु मारमा परेका छन् र कैयौं निरुत्साहित भएर व्यवसायबाटै पलायन हुने अवस्थामा छन्। यस्तो अवस्थामा सरकारी निकायहरुले बर्डफ्लुका दुवैखाले असरलाई नियन्त्रण गर्ने उपाय खोज्नुपर्छ। संक्रमित कुखुरालाई तत्काल नष्ट गरेर भाइरसले मानव संक्रमित हुन नदिन सकृयता र चनाखोपन देखाउनुपर्छ भने कुखुरा व्यवसाय पनि निरुत्साहित हुने अवस्था आउन दिनु हुन्न।
विडम्बना के छ भने, सरकारले यस्तो संकटका बेलामा यथाशीघ्र देखाउनुपर्ने चनाखो प्रदर्शन गर्न सकेको छैन। सरकारी निकाय बढी सञ्चार माध्यममा भर परेको देखिन्छ। उदाहरणका निम्ति संक्रमण भएको खबर आएको झन्डै चार दिनपछि मात्र पशु सेवा विभागले जीवित पन्छी ओसारपसारमा रोक लगाउन सिफारिस गरेको थियो। पशु सेवा ऐन, २०५५ मा संक्रामक रोग लाग्दा पशुपन्छीको ओसारपसारमा प्रतिबन्ध लगाउन सक्ने व्यवस्था छ। बिहीबार आएर मात्र त्यसलाई कार्यान्वयन गरिएको छ। ओसारपसारमा प्रतिबन्ध लगाउँदा भाइरस एक ठाउँबाट अर्को ठाउँमा फैलिन पाउँदैन। चिकित्सकहरुका अनुसार बर्डफ्लुको ओथार अवधि सातदेखि २१ दिनसम्म हुन्छ र भाइरस फैलिन पाएन भने रोग नियन्त्रणमा आउन सक्छ। विश्वका थुप्रै मुलुकमा देखिएको र प्राणघातक रोगको श्रेणीमा दर्ज बर्डफ्लुबाट बच्न सरकार, व्यवसायी र स्वयं उपभोक्ताहरुले पनि उच्च सतर्कता अपाउनुपर्ने हुन्छ। पटक–पटक दोहोरिएर उच्च जोखिमपूर्ण रहेको बर्डफ्लुको मारबाट व्यवसायी र उपभोक्तालाई बचाउन सरकारले यसको स्थायी निदान नै खोज्नुपर्छ।
No comments:
Post a Comment