Monday, December 9, 2013

संविधान बनेपछि मात्र राष्ट्रपति फेर्नुपर्छः मसाल

                        २५ मंसिर, काठमाडौं । नेकपा मसालले संविधान निर्माण भएपछि मात्र राष्ट्रपति र उपराष्ट्रपति परिवर्तन गर्नुपर्ने निष्कर्ष निकालेको छ । मंसिर २० गतेदेखि २४ गतेसम्म बसेको केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
                                 बैठकले १२ बुँदे निर्णय गरेको जानकारी गराउँदै मसालले नयाँ संविधान जारी नभएसम्म राष्ट्रपति फेर्न नपर्ने जनाएको छ । सो पार्टीको खुल्ला मोर्चा मानिएको राष्ट्रिय जनमोर्चाले समानुपातिकतर्फ तीन स्थान प्राप्त गरेको छ । ‘अन्तरिम संविधानमा संविधान जारी भएपछि नै राष्ट्रपति पदबाट हट्ने व्यवस्था गरिएको छ । त्यो अवस्थामा संविधान जारी हुनुभन्दा पहिले राष्ट्रपतिलाई पद छाड्न भन्नु संवैधानिक वा राजनीतिक
दुवै दृष्टिले सही होइन,’ मसालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । महामन्त्री मोहनविक्रम सिंहद्वारा जारी विज्ञप्तिमा भनिएको छ,-’यो विवाद बढ्दै गएमा यसकै कारण महिनौँ बित्ने र संविधान निर्माणको कार्य ढिलो हुनेछ ।” बैठकले निर्वाचनमा केही धाँधली र पैसाको खेल भए पनि यसलाई स्वीकारेर जान एमाओवादीलाई आग्रह गरेको छ । मसालले निर्वाचनमा आफ्नो पार्टीले धेरै स्थानमा विजय हासिल नगरेको भए पनि आफूले उठाएको जातिवादी र क्षेत्रीयताको मुद्दालाई जनताले रुचाएको पुष्टि भएको जनाएको छ ।

No comments:

Post a Comment