काठमाडौं।
एनेकपा माओवादीका प्रचण्डपक्षीय केही नेता कार्यकर्ताहरूले दुई माओवादी अब
एकीकरण हुनै लागे भनेर हल्ला चलाउन थालेपछि नेकपा माओवादीका नेताहरूले
त्यो सम्भावनालाई ठाडै अस्वीकार गरेका छन्। संविधानसभा निर्वाचनमा
लज्जास्पद पराजय भोगेर निराश र हतास बनेका प्रचण्ड पक्षका नेता
कार्यकर्ताहरू पछिल्लो समयमा बाबुराम भट्टराईले पनि नयाँ शक्ति निर्माणको
कुरा उठाएपछि एकताका लागि हतारिएको टिप्पणी माओवादी नेताहरूले गरेका छन्।
प्रचण्ड पक्षधरहरूको पराजयको पीडामा मल्हमपट्टी लगाइदिनका लागि तत्काल
सहमति भएका दुई बुँदामा संयुक्त वक्तव्य जारी भए पनि पार्टी एकताको हल्लामा
सत्यता नरहेको माओवादी उपाध्यक्ष सीपी गजुरेलले बताए।
‘अहिले प्रचण्डजीका कार्यकर्ताहरू निरास, हतास र हतप्रभ अवस्थामा छन्।
उनीहरू पलायनको बाटोमा पुगेका छन्। कतिपयले बाबुरामलाई देखाउनकै लागि पनि
हामीसँग एकता हुनै लाग्यो
भन्ने हल्ला चलाएका छन् भनें कतिपयले पलायन हुन
लागेका कार्यकर्ता रोक्ने अस्त्रका रुपमा पनि एकताको हल्ला गरिरहेका छन्’
गजुरेल भन्छन् ‘पार्टी एकताका लागि बिचारमा एकता हुनुपर्छ, कार्यनीति र
कार्यदिशा एक हुनुपर्छ, जबकि त्यो कुनै सम्भव नै छैन, उनीहरूले हेटौंडा
महाधिवेशनकेा कार्यदिशा परित्याग गरेर बिगतको गल्तीप्रति पश्चाताप गरेर
नआएसम्म एकताको सम्भावना छैन’।
पछिल्लो समयमा वर्षमान पुन, नन्दकिशोर पुन, शालिकराम जमरकट्टेल लगायतको
चुनाव हारेको एउटा पंक्ति वैद्य पक्षसँग पार्टी एकीकरण गरिहाल्ने र
बाबुरामलाई किनारा लगाउनेगरी प्रस्तुत भएको समाचार साँघुले अघिल्लै अंकमा
खुलासा गरेको थियो। नभन्दै यसबीचमा वर्षमान पुनहरूको निकै ठूलो मेहनतपछि
प्रचण्ड र मोहन वैद्यले सत्य निरुपण तथा मेलमिलाप आयोग तथा स्थानीय
निर्वाचनको बिरोधमा संयुक्त वक्तव्य निकाल्ने अवस्था सिर्जना भयो। प्रचण्ड
पक्षधरले यो वक्तव्य बाबुरामलाई देखाउनका लागि जारी गरिएको र यो कार्यगत
एकताबाट बाबुराम असन्तुष्ट रहेको हल्ला समेत आफैं चलाएपछि बाबुराम पक्षले
गम्भीर असहमति जनाएको छ। यद्यपि बैद्य पक्षले भने संयुक्त वक्तव्यकै आडमा
प्रचण्ड पक्षले अब पार्टी एकता हुने भयो भनेर हल्ला चलाउनुको कुनै अर्थ
नरहेको र पार्टी एकीकरण सम्भव नरहेको स्पष्ट पारेको छ।
वैद्य पक्षका नेताहरू पराजयको पीडा र बाबुरामको सम्भावित विद्रोहबाट निराश
बनेका प्रचण्ड अन्ततः सबै एजेण्डामा आत्मसर्पण गरेर पार्टी एकताका लागि
आफूहरूसँग आउनेमा विश्वस्त छन्। जुवाडे शैलीका प्रचण्ड कुनै पनि दिन
संविधानसभा समेत छाडेर बैद्यसँग समर्पण गर्न आउने सम्भावना देखेकैले गर्दा
बैद्य पक्ष एकताका लागि कठोर बनेको चर्चा पनि माओवादी पंक्तिमा चलेको छ।
‘आफ्नै घोषणापत्रविपरीत स्थानीय निकाय निर्वाचनको विपक्षमा उभिएका प्रचण्ड
केही समयभित्रै संविधासनभाबाट जनताको संविधान नबन्ने निष्कर्ष सहित गोलमेच
सम्मेलनको हाम्रो मागमा आउँछन्, त्यसपछि मात्र हाम्रो नेतृत्वमा पार्टी
एकता हुन्छ’ नेकपा माओवादीका एक प्रभावशाली नेताले भने ‘प्रचण्डलाई अझै
निरास, हतास र कमजोर बनाउनुपर्छ। बाबुरामले नयाँ शक्तिको अभियानलाई अझ
तीब्रता दिनुपर्छ सबै ठिक हुन्छ’।
बाबुराम भट्टराईले अघि सारेको नयाँ शक्ति निर्माणको प्रस्तावलाई बैद्य
पक्षले अझै शंकाको नजरले हेरेको छ। प्रचण्ड र उनका निकटस्थ नेताहरूले
संसदीय दलको नेता बन्नका लागि मात्र बाबुरामले घुर्क्याएको भन्दै वैद्य
पक्षका नेताहरूसँगको भेटमा बाबुराम कतै नजाने बताएका थिए। तर बाबुरामले भने
अब प्रचण्ड नसुधि्रने, एमाओवादीको नेतृत्वमा आफू पुग्न नसक्ने र
एमाओवादीलाई रुपान्तरण गर्ने अवस्था पनि नदेखिएकाले भारतको दिल्लीमा
अरविन्द केजरीवालको शक्ति खडा भए जस्तै नेपालमा पनि नयाँ शक्ति खडा
गर्नुपर्ने निष्कर्ष निकालेका छन्। उनले आफूलाई दलको नेता दिए पनि नखाने
निकटस्थहरूसँग बताएका छन्। प्रचण्ड पक्षले आफ्नो चरित्रहत्या हुनेगरी दलको
नेताका लागि बार्गेनिङ गरेको भनेर प्रचार गरेकोमा पनि उनी रुष्ट छन्। बैद्य
पक्षधर नेताहरू बाबुरामको सम्भावित बगावतपछि एमाओवादी पार्टी आफैं बिघटन
हुने र त्यसपछि मात्र फेरि पार्टी एक हुने दावी गर्छन् ।

No comments:
Post a Comment