Monday, March 16, 2015

कपाल मुण्डन गरी ससुराको किरियामा बुहारी

      बागलुङ, चैत्र २ - छोरीहरूले बाबु-आमाको किरिया बस्ने अब सामान्य भइसक्यो । तर बुहारीले सासू-ससुराको किरियामा कपाल खौरिएर बसेका घटना कमै सुन्नमा आएको छ । बागलुङकी एक एकल महिलाले आफ्ना ससुराको किरिया बसेर समाजमा उदाहरणीय बनेकी छन् । रिघा २ घर भई बागलुङ नपा ३ बस्दै आएकी कृष्णा श्रीशले आफ्नो संस्कारअनुसार कपाल मुण्डन गरी ससुरा धनबहादुरको काजकिरिया गरिन् । सात वर्षअघि श्रीमान् बुद्धिबहादुरको निधन भएपछि एकल जीवन बिताउँदै आएकी श्रीशले ससुराको निधनपछि श्रीमान्ले गर्ने भूमिका सबै पूरा गरेको बताइन् । 'मैले मेरो श्रीमान्को भूमिका र आफ्नो कर्तव्य पूरा गरेकी हुँ,' उनले भनिन्, 'एउटा छोरा थियो, मर्‍यो, बुहारी पोइल जान्छे भन्नेहरू धेरै थिए । उनीहरूका लागि पनि
यो गतिलो सन्देश हो ।' श्रीश छोराले झैं कपाल मुण्डन गरेर विधिपूर्वकै किरियामा बसिन् । महिलाले शव उठाउने, कपाल मुण्डन गर्ने र किरिया बस्ने विषयमा विवाद उठे पनि ब्राह्मण र मगरका पण्डितको सल्लाहमा आफू किरिया बसेको उनले बताइन् । 'धेरैले मैले शव उठाउन मिल्दैन भनेका थिए तर बोकेरै घाट गएँ,' उनले भनिन्, 'चार वर्षदेखि थलिएका ससुराको स्याहार मैले नै गरेकी थिएँ ।' ७७ वर्षीया धनबहादुरको शुक्रबार निधन भएको थियो । ७५ वर्षीया सासू चन्द्रा पनि वृद्धा भइसकेकी छन् । मानव अधिकारका लागि एकल महिला संगठनकी जिल्ला संस्थापक कृष्णाले अशक्त र एकल महिलाको सशक्तीकरण र क्षमता विकासका लागि पहिलोपटक अभियान चलाएकी थिइन् । 'श्रीमान्को निधन भएका श्रीमतीले रातो लगाउन नहुने, सार्वजनिक काममा जान नहुने पुरानो मान्यता तोड्न उहाँले पहल गर्नुभएको हो,' मानव अधिकारका लागि महिला जिल्ला समिति अध्यक्ष खडकुमारी खड्काले भनिन्, 'अहिले गाउँमा हामीले सञ्चालन गर्ने काममा उहाँकै अभियानको निरन्तरता हो ।' श्रीशले आफूले बुहारी नभई छोरा भएर बस्ने आँट गरेको बताइन् । उनकै अगुवाइमा जिल्लाका एकल महिलाको तथ्यांक संकलन भइरहेको खड्काले बताइन् । नजिकको नाताकी गीता श्रीश र आफन्त पर्ने ससबहादुर पुनले अभियानमा साथ दिएपछि उनले काजकिरिया गरेकी हुन् । 'यस्तो काम गरेको भए हाम्रो पालामा कसैले मुख समेत हेर्दैनथे,' सासू चन्द्राले भनिन्, 'परम्परा तोडे पनि हामीलाई सुखसँग पाल्ने छोरा यही हो ।' बुहारीले छोराको माया दिएको देखेर भावविह्वल हुँदै उनले बताइन् । जिविसको ऊर्जा तथा वातावरण शाखा प्रशासन तथा लेखा सहायकको रोजगारी गर्दै आएकी श्रीशको पनि एकमात्र छोरी छन् । (कान्तिपुर दैनिकमा चैत २ गते प्रकाशित)

No comments:

Post a Comment