पर्बत सेरोफेरो

पर्वत लुङ्दी खोलाको अस्थाई पुल भत्किएपछि मालढुङ्गा–बेनी सडक अवरुद्ध !

              म्याग्दीलाई राष्ट्रिय राजमार्गसंग जोड्ने मालढुङ्गा–बेनी सडक बिहिबार दिउँसोदेखि अवरुद्ध बनेको छ । सडक अन्तरगत पर्ने पर्वतको धाईरिङ ५ मिलनचोक स्थित लुङ्दीखोलाको अस्थाई पुल भत्किएपछि सडक अवरुद्ध भएको हो ।
             लस्तीदेखि बालुवा बोकेर बेनी आउँदै गरेको बा २ ख ७५६४ नम्बरको टिपर पुलको बिचमा राखिएका फल्याक भाँचीएपछि फसेर अड्कीएको छ । फल्याक भाँचीएको र टिपर पनि फसेकाले दिनभर सडक अवरुद्ध बनेको मिलनचोक प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरिक्षक जंगबहादुर श्रेष्ठले बताए ।
          ट्रिपर निकाल्न र पुल मर्मत गर्न धेरै समय लाग्ने भएकाले केही तलदेखि अस्थाई डाईभर्सन बनाइएपनि ठूला सवारी साधन वारपार हुन सकेको छैन् । बेनीदेखि पोखरा, राजधानी लगायतका ठाउँका लागि छुटेका सवारी साधनले रत्नेचौरको सडक प्रयोग गरेका छन भने बेनी भित्र्ने सवारी साधनले सूचना नपाउँदा मिलनचोकमा आएर रोकिने गरेका छन् ।
             मिलनचोकमा रहेको लुङ्दी खोलामा पक्की मोटरेवल पुल निर्माण कार्य भईरहेको छ । सो पुल निर्माण नहुँदासम्म भत्कीएको पुल रहेको ठाउँमा सडक बिभागसंग समन्वय गरेर अस्थाई डाईभर्सन बनाउन पहल गरेको प्रहरी सहायक निरिक्षक श्रेष्ठले जानकारी दिए । पक्की पुल निर्माण पुरा भएपछि सो स्थानमा पटक पटक सर्वसाधारणले भोग्दै आएको समस्याको दिगो समाधान हुने बताइएको छ ।

 नेविसंघ पर्वतद्धारा शहीद दिवसका अवसरमा शहीद पत्नीलाई सम्मान

            नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति पर्वतको आयोजनामा जनआन्दोलन २०६२।०६३ का धौलागिरी अञ्चलका एकमात्र शहीद गोविन्दनाथ शर्माको सातौ पुण्य स्मृति दिवस यहि बैशाख १२ गतेका दिन लोकतान्त्रिक शहीद गोविन्द चोक कुश्मा, पर्वतमा एक कार्यक्रमको आयोजना गरि मनाईयो ।
         उक्त कार्यक्रममा बोल्दै शहीद पत्नी भगवती शर्माले शहीदको बलिदानीलाई आज राजनैतिक दलहरुले आफ्नो सत्ता कब्जा गर्ने दाउपेचमा प्रयोग गरेकोमा दुःख ब्यक्त गर्नुभयो । साथै उहाँले छिट्टै राजनैतिक दलहरुलाई शहीदको सपना पुरा गर्ने प्रेरणा मिली सहमती र सहकार्यका साथ संविधान सभाको निष्पक्ष निर्वाचन गराउनमा समेत अगाडि बढ्न आव्हान गर्नुभयो ।
               उक्त कार्यक्रममा नेविसंघ पर्वतले शहीद परिवारको लोकतान्त्रिका आन्दोलनको योगदान स्वरुप कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरेको थियो । सो कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्वतका कार्यवाहक अध्यक्ष गणेश पौडेलले शहीदको सपना पुरा गर्न राजनैतिक दल प्रतिवद्ध हुनुपर्नेमा जोड दिनुभएको थियो ।
           नेपाल विद्यार्थी संघ पर्वतका अध्यक्ष मोहन आचार्यको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत एबम् कार्यक्रमका बारेमा बरिष्ठ उपाध्यक्ष रामप्रसाद शर्मा(आर.सी) र कार्यक्रम सञ्चालन सचिव सन्तोष पौडेलले गरेका थिए । उक्त कार्यक्रममा शहीदको सम्झनामा एक मिनेट मौनधारण गरि शालिक र तस्वीरमा फुल, माला र अबिर समेत अपर्ण गरिएको थियो ।

मोदीखोला जलविद्युत आयोजनाको ब्रेकरमा प्राविधिक समस्या

                   गतहप्ता देखी पटकपटक विद्युत अवरुद्ध, दुई दिन पुरै अन्धकार
बैकुण्ठ गिरी

      पर्वत जिल्लामा उत्पादीत दुई पावरहावउसको झण्डै कुल २५ मेघावाट विद्युत उत्पादन हुने क्षमताका रहेका छन । नेपालकै उर्जाखोलाका रुपमा हेरीने मोदीखोलाबाट मोदीखोला जलविद्युत आयोजना पातीचौर विद्युत केन्द्र १४ मेघावाट विद्युत क्षमताको हो । हालसालै सम्पन्न तल्लो मोदीखोला जलविद्युत युनाईटेड मोदी हाईड्रोपावरबाट १० मेघावाट क्षमताको विद्युत केन्द्रिय प्रशारणमा समेत जडान भैसकेको छ । केन्द्रिय प्रसारणमा जडित भैसकेको युनाईटेड मोदी हाईड्रोपावरको विद्युतले भैरहेको लोडसेडीङ्गलाई नेपालमै आधाघण्टा कम गराउने दावी गरिँदै आएको छ । तर दुवै ठुला पावरहाउसको धनी पर्वत जिल्लामा लोडसेडीङ्ग र अनाश्यक रुपमा विद्युत अवरुद्ध भैरहँदा स्थानीयलाई हैरानी भएको छ । दुवै पावर हाउसमा क्षमता भन्दा निकै कम विद्युत उत्पादन भई लोडसेडिङ्ग भएककै अवस्थामा यहाँका आम उपभोक्ताले नियमानुसारको विद्युत मशसुल वुझाउँदै आएपनि मोदीखोला जलविद्युत केन्द्रमा ब्रेकरमा खराबी आएका कारण विद्युत अवरुद्ध भैरहेको छ ।

गत हप्ता देखी मोदिखोला जलविद्युत आयोजनामा ब्रेकर विग्रीदाँ पटकपटक विद्युत अवरुद्ध भैरहेको छ भने दुई दिनसम्म पुरै अन्धकारको अवस्था सृजना भएको छ । ब्रेकर विग्रएको भन्दै विहान र वेलुकाको सयममा केन्द्रिय प्रसारणको वाइपासबाट विद्युत दिइँदै आएको विद्युत केन्द्रले जनाएको छ । ब्रेकर विग्रिँदा निकै सास्ती खेपेका यहाँका स्थानीयवासीले विगतका महिनाहरुमा समेत लोडसेडिङ्ग, पोल भाँचिने, हावाहुरी र चट्टयाङ्गले तारमा असर पु¥याउँदा सहजै विद्युत उपभोग गर्न पाएका छैनन् । स्थानीयवासीले आफ्नै क्षेत्रमा ठुला पावरहाउसबाट विद्युत उत्पादन भएपछि विद्युत उपभोगमा समस्या हुँदैन भन्ने पनि निरर्थक भएको छ । स्थानीय स्तरमा उत्पादीत विद्युतबाट जिल्लामा सहजै विद्युत उपभोग गराउन यहाँका सरोकारवालाहरु र स्थानीयवासीले आवज उठाउँदै आएपनि विद्युत प्राधीकरण, पावरहाउस र सम्वन्धीत निकायबाट त्यसको वेवस्ता हुने गरेको छ । विद्युत गृह र सरकारले स्थानीयका मागलााई वेवास्ता गर्दा यहाँका वासीन्दा विद्युत अवरुद्ध र लोडसेडिङ्गकोे मारमा पर्दै आएका छन् भने अकस्मात विद्युत अवरुद्ध हुने समस्याबाट सास्ती खेपेका छन् ।
सरकार, विद्युतगृह, प्राधिकरण लगायतका सरकारी निकायको लापारवाहीका कारण उपभोक्तालाई उचित प्रकारले विद्युत उपभोग गर्न नपाएकोे सदरमुकाम कुश्माका छापाखाना ब्यवसायी योगराज गिरीले बताउनुभयो । विहान सात बजेदेखी साढे नौ बजेसम्म र राती १२ बजे देखी २ बजे सम्म जिल्लामा लोडसेडीङ्ग भैरहेको छ । नियमीत लोडसेडीङ्ग र पटकपटक विद्युत अवरुद्ध भैरहेकोमा स्थानीयवासी र विद्युतबाट काम गर्ने उद्योगी ब्यासायीहरु तथा संचारमाध्यमहरु समस्यामा परेका छन । लोडसेडीङ्ग हो वा केहो ? स्थानीय युवा नारायण भट्टराईले भन्नुभयोे ‘हामीले निरन्तर विद्युतको महसुल पनि तिरेका छौं तर हामीले आफ्नो कामले सदरमुकाम आउँदा पत्तो नपाईकन विद्युत जान्छ, पटकपटक विद्युत अवरुद्ध हुँन्छ, विद्युत नआएकै कारण कम्पुटरबाट गर्ने इमरजेन्सी काम पनि नबन्ने भयो ।’ उहाँ जस्तै उद्येगी, संचारक्षेत्र, छापाखाना, विद्युतबाट काम गर्ने विभीन्न ब्यावसायीले समयमा विद्युतको उपभोग गर्न नपाएको बताएका छन । पटकपटक विद्युत अवरुद्ध भैरहेको स्थनीयवासीले आक्रोस पोखेका छन् । ‘ब्रेकर विग्रीयो पनि भन्ने केही समय विद्युत पनि आउने तर वेथितिले विद्युत अवरुद्ध पार्ने यो के नियत हो’ उद्योगी ब्यवसायीहरु बताउँछन् । उनिहरुले विद्युत केन्द्रको ब्रेकरमा प्राविधिक समस्या, काठका पोलको समस्या, तार लगायतको उचित ब्यवस्थापन गर्न सरकारी निकायसँग माग गरेका छन् ।
लोडसेडीङ्ग नभएको खण्डमा बेक्रर विग्रीने, हावा हुरीबाट रुख ढल्दा विद्युतको पोल भाचिने, काठको पोल कुहीएर भाचिँने जस्ता समस्या भएपनि समाधानको पहल भैहरेको विद्युत प्राधिकरण शाखाले जनाउँदै आएको छ । मोदीखोला जलविद्युत केन्दका्र प्रमुख कपिलदेव मान्जनले विद्युत कन्द्रको सबस्टेशनमा रहेको ब्रेकरको मर्मत भैहरको बताउनुभएको छ् । ब्रेकर बिग्रीने, पावरहाउसमा विभीन्न समस्या आईरहेने भएकोले केन्द्र देखी प्राविधीक वोलाएर समस्याको समाधानमा लागेको मान्जनले बताउनुभयो । ब्रकर बनाउन लागिएकाले विद्युत कटौती गर्नुपरेको उहाँले जानकारी दिनुभयो । ब्रेकरको गत शुक्रवार देखी मर्मत कार्य गरिएको छ । ‘ब्रेकरमा ग्यास लिग भएपछि समस्या पैदा भएको हो’ उहाँले भन्नुभयोे । पोखराबाट विशेषज्ञ बोलाएर मर्मत भैरहेको छ विद्युत अवरुद्धको समाधान सक्दो चाँडो निकाल्ने प्रयासमा छौं मान्जनले बताउनुभयो ।

 

हास्यब्यङ्ग साँझको तयारी ८० प्रतिशत पुरा

बिजी न्युज कुश्मा
बाल संसार बाल क्लव पर्वतको आयोजनामा हुन लागेको नयाँ बर्ष हास्य ब्यङ्ग साँझ २०७० को लगभग ८० प्रतिशत काम पुरा भएको आयोजकले जनाएका छन ।
    सडक बाल वालिकाको लागि बाल संसार भन्ने नाराका साथ पर्वत जिल्लाको  सदरमुकाम कुश्मा बजारमा २०६८ सालमा स्थापित उक्त क्लवले बिभिन्न समयमा सास्कृतिक कार्यक्रम गरी उदाहरणीय बनिरहेको छ ।
    नयाँ बर्षको अवसर पारेर उसले गर्न लागेको कार्यक्रमा राष्ट्रिय हास्य कलाकार मनोज गजुरेल, मुख्य आर्कषणको रुपमा रहेका छन भने अन्य कलाकारहरुमा हास्य विधा कै सुरज भिरखोईरे, पोखरेली उल्टे पुलिस, लोकदोहोरी गायीका पुर्णकला वि.सी. पर्वतका स्थानिय दाहोरी गायक आरसी शर्मा तथा गायीका जौमाया हिताङ्ग रहेका छन् ।
    सिद्धेश्वर चलचित्र मन्दिरमा यहि चैत्र ३० गते गर्न लागिएको कार्यक्रम को लागि सबै तयारी लगभग पुरा भएको र केहि प्राविधिक काम बाकी रहेको क्लवका अध्यक्ष जगदिस शुवेदीले बिजी न्युज लाई बताए । त्यस कार्यक्रममाको बिजी न्युज अनलाईन पनि मिडिया पार्टनर रहेको छ ।



पिकनिक आउने आर्कषण गन्तव्य बन्दै नेपालको अग्लो झोलुङ्गेपुल

पर्वत, १० मंसिर । कुश्मा–ज्ञादी जोड्ने नेपालको अग्लो झोलुङ्गेपुल नजिकै पिकनिकमा आउनेको संख्यामा बृद्धि हुँदै गएको छ । दिनानुदिन पिकनिकका लागि झोलुङ्गेपुल आर्कषक गन्तव्य स्थल बनेको छ । अग्लो झोलुङ्गेपुलको आकर्षण, वरिपरिका हिमाल, पहाडका दृश्य अवलोकन तथा रमाईलो र शान्त वातावारणको कारण दैनिक पिकनिकका लागि आउने गरेका हुन् । पिकनिकका लागि आएर रमाउँदा रमाईलो महशुस भएको पिकनिकमा आउनेहरु बताउँछन् । पिकनिकका लागि कास्कीबाट आएका सुरेश पौडेलले भने – ‘नेपालकै अग्लो झोलुङ्गेपुल नजिकै आएर पिकनिकमा रमाउन पाउँदा रमाइलो लागिरहेको छ, असंख्य मनै लोभिने झोलुङ्गेपुल, हिमाल पहाडको दृश्यले मनै लोभ्याएको छ ।’ पिकनिकका लागि र पुल अवलोकन गर्नको लागि मात्रै म्याग्दी बागलुङ, कास्की, लमजुङ, तनहुँ, गोरखा, नवलपरासी काठमाडौं चितवन लगायत मुलुकभरिका सबै जिल्लाबाट दैनिक सयौंको संख्याका सर्वसाधारणहरु आउने गरेका छन् । मंसिर महिना लागेपछि मात्रै दैनिक चारदेखि पाँच टिम पिकनिकका लागि आउने गरेको स्थानीय होटल व्यवसायीले बताएका छन् ।
दैनिक चारदेखि पाँच टिम पिकनिकको लागि झोलुङ्गेपुलको ज्ञादी साईडमा आउने गरको दिनभरि रमाइलो गरि फर्कने गरेको स्थानीय व्यवसायी ढाकाराम गिरीले बताए । पिकनिकका लागि खासै समस्या नखिएको बताइन्छ । ‘दैनिक चार देखि पाँच टिम पिकनिकका लागि आउने गर्दछन्, बागलुङ, स्याङ्जा, म्याग्दी, कास्की, तनहुँ, गोर्खाबाट आउने गरेका छन्’ स्थानीय व्यवसायीगिरीले भने, ‘सार्वजनिक ठाउँमा पानीको सुविधा नभएपनि चौविसै घण्टा आइरहने खानेपानी घर घरमा हुने भएकाले खासै पिकनिकका लागि अप्ठ्यारो परेको छैन ।’ नेपालकै एकसय ४४ मिटर अग्लो झोलुङगेपुल यतिबेला आन्तरिक पर्यटकहरुका लागि पहिलो गन्तव्यका रुपमा विकास हुन थालेको छ । पुल हेर्न र मोदी खोला अलपेश्वर गुफा लगायतका मनोरम दृश्यको अवलोकन गर्न पुलमा बसेर तस्विर खिच्नका लागि बालवालिका वृद्धवृद्धा तथा प्रेमी प्रेमिकाहरुको समेत ओइरो नै लाग्ने गरेको छ । बिहान दिउँसो होस् या साँझको समय देशका बिभिन्न ठाउँबाट यहाँसम्म आएर पुलको बिचमा बसेर तस्बिर खिच्ने प्रेम जोडीहरुको यहाँ निकै भिड नै लाग्ने गरेको छ ।
पुल निर्माण भएपछि आसपासमा रहेको होटल तथा रेष्टुरेन्टहरुको संख्यामा पनि उल्लेख्य मात्रामा बृद्धि हुनुका साथै पुलदेखि करिव एक किलोमिटर टाढासम्मको जमिनको मूल्यमा पनि दश बिसौं गुण बृद्धि भएको स्थानीय होमबहादुर बिकले बताए । पर्वत जिल्लाको सदरमुकाम कुश्मा बजारबाट ज्ञादी कटुवाचौपारीमा निर्माण गरिएको नेपालकै अग्लो झोलुङ्गे पुलले पर्वतका पूर्वी दक्षिण क्षेत्रका गाविसहरु प्रत्यक्ष लाभान्वित बनेका छन् । कुश्मा–ज्ञादी झोलुङ्गे पुल पर्यटकिय हिसावले मात्रै नभएर विकासको हिसावले पनि निकै महत्वपूर्ण मानिएको छ ।

No comments:

Post a Comment