Senior leader of Communist Party of Nepal Bhattarai waits to file nomination paper for Prime Minister's post in Kathmandu                बाबुराम भट्टराईको ‘पद त्याग’को स्ववाचित मन्त्रले मिडिया बजारमा रामै्र स्थान पाएको छ। सरकारको नेता रहँदा उनको कर्म देख्नेहरू मजाले हाँसेका छन्। पार्टीको नेताका रुपमा उनलाई भित्रैबाट चिन्नेहरू आतंकले भयभित भएका छन्। पढेलेखेको व्यक्तिका रुपमा उनलाई चिन्नेहरू उनको आत्म प्रवचनबाट लाजले भुतुक्क भएका छन्। नेपालको सत्ता राजनीतिको नियतिलाई बुझ्नेहरूले उनको ‘पद त्याग’लाई देशको आसन्न तस्बिरसँग जोडेर अर्थ निकाल्न खोजिरहेका छन्। थरिथरिका मानिसहरूका लागि बाबुरामको ‘पद त्याग’ थरिथरिको छ। किनभने नेपालका राजनीतिक कार्डहरूको भूमिका एकैथरिको हुँदैन।
             सुनेको अनुसार भट्टराईले आफ्नो पार्टीभित्र लोभी, पापी र पदलोलुपहरूको बिगबिगी बढेको हुँदा तिनीहरूलाई पाठ पढाउन ‘पद त्याग’ गरेको रे! पत्रिकाहरूमा पढेको अनुसार उनी साम्यवादप्रति हुरुक्क भएको हुँदा व्यक्तिगत स्वार्थबाट माथि उठेको रे! उनका केही कार्यकर्ताहरूबाट थाहा पाएअनुसार उनले एकै व्यक्तिले लामो समय ठाउँ ओगट्ने रितिथितिलाई अन्त्य गरेर युवाहरूलाई ठाउँ खाली गरिदिने परम्परा बसाल्न उदाहरण बनि देखाइदिएको रे! उनको आकांक्षा बाहिर आएअनुसार उनी अनुसन्धानमा लागेर नेपालको कार्लमार्क्स बन्ने रे!
             गुहे किराले विष्टाभित्रको आफ्नै भुनभुनलाई संसारको सर्वोत्तम आनन्द ठानेको हुन्छ भन्छन्। बाबुरामलाई पनि त्यस्तै लागेको होला। तर ठूलो पदका लागि पटक–पटक पार्टीभित्र राजीनामा गर्ने बाबुराम, हिसिलाका लागि रोजेको मन्त्रालय दिलाउन पदत्यागको धम्की दिएका बाबुराम, सिंहदरबारको फोहोरको आहालमा अरुलाई बस्न दिनुभन्दा संविधानसभाकै घाँटी निमोठ्न उचित ठान्ने बाबुराम, राज्यभित्रका पैसाका सबै मुख्य स्रोतहरूको ड्युटी आफ्नै परिवार र ससुराली खलकको ठेक्का हुनुपर्छ भन्ने उदाहरण देखाएका बाबुराम, पार्टीभित्र एउटा व्यक्ति पनि आफ्नो बनाउन नसकेका बाबुराम, दिल्ली र विश्व बैंकको इमान्दार कर्मचारीका रुपमा आफ्नो प्रतिबद्धता सावित गरेका बाबुराम र एउटा मारवाडीबाट ‘उपहार’ खाएर मुस्ताङ म्याक्सको प्रचार गर्दै हेलिकोप्टर चढेर गाउँका गरिब दलित र थारुहरूको घरमा गुन्द्रुक र घोंगी चाट्दै हिंड्ने बाबुरामलाई जस्ताको तस्तै बुझ्नेहरूले भने उनको ‘पदत्याग’को समाचार कुनै नयाँ हास्य श्रृंखलाको नाम हो वा गाईजात्राको मसला हो भनि छुट्याउन सकिरहेका छैनन्। तर मैले बुझेको ‘पद त्याग’को महात्म्य भने यस्तो छ।
               बाबुराम भट्टराईलाई क्रान्तिकारी पार्टी नेताका रुपमा जागिर दिनेहरूका लागि उही रुपमा उनको भूमिका अब समाप्त भएको छ। २०५२ सालदेखि संविधानसभाको विघटनसम्मको यात्रामा उनका केही जरुरी कार्यभारहरू थिए। क्रान्तिको नाममा गरिब नेपालीहरूको रगतलाई भौतिक शक्तिका रुपमा संगठित गर्नु, संगठित शक्तिहरूलाई हतियारका रुपमा प्रयोग गरेर समाजको विध्वंश गर्नु, सेना र हतियार देखाएर राज्यसँग सत्ताको सौदाबाजी गर्नु, सत्तामा हात हाल्न सफल भएपछि दिल्लीको रणनीतिमा क्रान्ति विसर्जन गर्नु र १२ बुँदेको बहानामा देशको राजनीतिको लगाम दिल्लीका हातमा पुर्‍याउनु। सरकारमा पुगेर छिटोभन्दा छिटो दिल्ली र विश्व बैंकका नीतिहरूलाई कार्यान्वयन गर्नु, देशलाई अस्तव्यस्त बनाएर संविधानसभाको विघटन गर्नु, दलीय प्रणाली विसर्जन गरेर निर्दलीय सरकार गठन गर्नु, महाधिवेशन गरी पार्टीलाई गैर कम्युनिस्ट दिशामा लैजानु र सबै कामहरूमार्फत् नेपाललाई संकटको चक्रव्युहमा धकेल्नु जस्ता कामहरू बाबुरामले गर्नुपर्ने कामको जिम्मा थिए।
              सबै कामहरू पूरा भइसकेपछि बाबुरामका अगाडि दुईवटा प्रश्नहरू खडा भएका थिए। एउटा प्रश्न थियो, अब पार्टीमा बसिरहनुको औचित्य के हो? अर्को प्रश्न थियो, पार्टी छोडेपछि के गर्ने? यिनै प्रश्नहरूको समाधानका रुपमा उनको ‘पद त्याग’को अस्त्र बाहिर आएको छ। जो, जसले कि धेरै मानिसहरूलाई थाहा छ, उनको आफ्नो निर्णय होइन।
                पहिलो यथार्थता के हो भने बाबुराम एमाओवादीको अध्यक्ष बन्न सक्ने सम्भावना छैन र उनको अगुवाईमा अर्को कुनै पार्टी चल्ने सम्भावना पनि छैन। यस्तो अवस्थामा एमाओवादीभित्र बस्नुको अर्थ अब पुष्पकमल दाहालको पुच्छर बन्नु मात्र हो। पुष्पकमल पश्चिमी शक्तिहरूको रणनीतिसँग जोडिएका छन्। त्यसैले दिल्लीले बाबुरामलाई उनको सहयोगी मात्र बनाई राख्न चाहन्न। बरु पुष्पकमलको नियन्त्रणमा रहेको संगठनलाई ‘पद त्याग’को हतियारबाट छिन्नभिन्न पार्न चाहन्छ। बाबुरामबाट पार्टीगत रुपमा हुनसक्ने कामहरू भइसकेको अवस्थामा एमाओवादीभित्र बाबुरामको उपादेयता छैन।
           दोस्रो यथार्थता के हो भने दिल्लीले बाबुरामको भूमिकालाई नयाँ आवरणमा अघि बढाउन चाहन्छ। पार्टी नेता र प्रधानमन्त्रीको रुपमा लागेको कलंकलाई पखालेर उनलाई सर्वस्वीकृत आवरणमा प्रस्तुत गर्न चाहन्छ ताकि परिस्थिति यस्तै डामाडोल रहिरह्यो भने बाबुरामलाई राष्ट्रपतिसम्म बनाउन सकियोस्।
पद त्यागको तेस्रो संकेत हो चुनाव नहुने सम्भावना। बाबुरामको हातबाट चुनाव गराउने प्रयास असफल भयो। खिलराजको नेतृत्वमा पनि चुनाव हुने सम्भावना छैन। आफ्नो योजनामा काम हुन नसकेपछि त्यसले मधेसी गुटहरू र एमाओवादीका बीचको समीकरण पनि भत्काउन सुरु गरेको छ। त्यसैले मंसिर महनिापछि नेपालभित्र हिंसा र अराजकता फैलाउने उद्देश्यले दिल्लीले बाबुरामलाई त्यस्तो अपजसबाट जोगाउन र सुरक्षित राख्न पार्टीबाट अलग्याउन चाहिरहेको देखिन्छ।
             चौथो यथार्थता बाबुरामका केही अभिव्यक्तिहरूबाट बाहिर आउन खोजेको छ। उनले आफूलाई अध्ययन, अनुसन्धानमा लगाउने कुरा गरेका छन्। यसको अर्थ के हो भने साम्राज्यवादी शक्तिहरूले भट्टराईलाई ‘विचारक’ को आवरणमा उभ्याएर मार्क्सवादमाथि हमला गर्ने योजना बनाएका छन्। ट्राटस्कीवादको समर्थनको बहानामा उनले यस्तो प्रयास पहिल्यै सुरु गरिसकेका थिए। यो प्रयास उनको पार्टीको पाँचौ महाधिवेशनमा आएर केही मात्रामा मूर्त भएको छ। नेपाली समाज, राज्य, वर्ग, क्रान्ति, साम्राज्यवादप्रतिका कम्युनिस्ट अवधारणाहरूलाई कसरी साम्राज्यवादीकरण गर्ने भन्ने कुराहरू यो यथार्थतासँग जोडिएका छन्।
              ‘पद त्याग’ का पछाडिको पाँचौ यथार्थता पुष्पकमल दाहालसँगको बदलाभाव हो। उनले २०६१ सालमै आफ्ना केही सहयोगीहरूसँग यस्तो विचार प्रकट गरिसकेका थिए। त्यसबेला उनीमाथि गरिएको अत्याचारको बदला विपक्षीहरूको राजनीतिक जीवनलाई समाप्त पारेर लिने भन्ने उनको धारणा थियो। एमाओवादीको साख झन्डै झन्डै समाप्त भइसकेको अवस्थामा उनले बदलाको रणनीति अघि बढाएका छन्। बाबुरामको यो कदमले दिल्लीको चाकडी गरेर शासक बन्ने पुष्पकमलको सपना कहिल्यै विपना हुने छैन र दाहालले अनपेक्षित प्रकारका अनिष्टहरूको चुनौती बेहोर्नु पर्ने अवस्था आउनेछ। दाहाल र भट्टराईको घात/प्रतिघातको स्वार्थी टक्करबाट देशले धेरै ठूलो समस्या बोकिसकेको छ। दुई जनाबीचको टक्करका पछाडि विदेशी शक्तिको रणनीतिको तावेदारी गरेर आफ्नो क्षुद्र कुण्ठालाई शान्त पार्नु मात्र हो भन्ने कुरा पनि सबैलाई थाहा भइसकेको छ। अर्काको निम्ति देशद्रोह र जनघात गर्नमा सबैभन्दा बढी कुख्याती कमाएका यी दुई तिरस्कारका पात्रहरूले आफ्नो चेहरामा घसेको कम्युनिज्मको लाली पाउडर पनि झरिसकेको छ।
            सबै तथ्य उदांगो भइसकेको अवस्थामा उनीहरूले फ्याँक्ने आदर्शको जालमा कोही फस्न आवश्यक छैन र यस्ता बेतुकका कुराहरूलाई यहाँको राजनीतिक संस्कृतिसँग जोडेर व्याख्या विश्लेषण गर्नुको औचित्य पनि छैन। सारभूत रुपमा हेर्ने हो भने दुवैको चिन्तन, प्रवृत्ति, चरित्र, सोच आदि एउटै हो। दुवै छद्म शिकारी हुन्। दुवै अब्बल दर्जाका अहंकारी व्यक्तिवादी हुन्। पद, प्रतिष्ठा, कुर्सी, पैसा आदिको त्याग गर्नु भनेको दुवैका लागि आत्महत्या गर्नु बराबर हो। फरक के मात्र हो भने यी कामहरू गर्ने उनीहरूको शैली वा प्रक्रिया फरक छ।
आफू निर्वस्त्र हुँदै गएपछि धतुरो खाएको धतुरेले झैं एउटाले ‘त्रिदेशीय समझदारी’ र ‘आर्थिक क्रान्ति’को नौटंकी देखाएर आफूलाई राजनीतिज्ञ बनाउन खोजेको छ। अर्काले ‘पद त्याग’ र ‘साम्यवादप्रति गहिरो निष्ठा’को बतासे कुरा गरेर आफूलाई कार्लमार्क्स देखाउन खोजेको छ। ‘मामाको घोडा, मेरो हिंहिं’ भनेझैं साम्राज्यवाद–विस्तारवादको रणनीतिलाई आफ्नो रणनीति भनेर मजाक गर्दै आएका यी तत्वहरूले जो बोल्छन्, त्यसभित्र विदेशीहरूको योजना के रहेछ भनेर विचार गर्नु नै उनीहरूप्रति ठीक दृष्टिकोण बनाउने आधार हो।
             पुष्पकमल दाहालले आफूलाई सर्वहाराकरण गर्ने कुरा गर्नु वा बाबुरामले साम्यवादप्रति अगाध आस्था राख्दै पद त्यागको घोषणा गनर्ुु र ब्वाँसाले आफू शाकाहारी सन्त भएको दाबी गर्नुमा कतै कुनै भिन्नता छैन। साम्राज्यवाद–विस्तारवादको दयादृष्टि परेका एकथरि तत्वहरूले बाबुरामको त्यागको त्यसरी नै बखान गर्न सक्छन्, जसरी यिनीहरूले दुई वर्ष अगाडि बाबुरामको प्रधानमन्त्रीत्वमा नेपालको कायापलट हुने प्रचार गरेका थिए। तर पुष्पकमल र बाबुराम आज पनि तिनै चरित्र हो, जुन उनीहरू प्रधानमन्त्री बन्दा देखाइसकेका छन्। विदेशीहरूको यो आदर्शको चक्करबाट नेपालीहरू टाढै बस्नु पर्दछ।