yubaraj-khatiwada               मुलुकको केन्द्रीय बैंकका गभर्नर नै अर्थशास्त्र र मौद्रिक नीतिका ठेलीको अध्ययन छाडेर ज्योतिषीको शरणमा जान थालेपछि त्यो मुलुकको आर्थिक र बैङ्किङ क्षेत्रको अवस्था कस्तो होला? 
                        सहजै अनुमान लगाउन सकिन्छ। पछिल्लो केही समयदेखि बैंकरहरूले केन्द्रीय बैंकले नियन्त्रित अर्थतन्त्रमा झैं निर्देशित नीति जारी गर्न थालेपछि बैङ्किङ व्यवसाय ओरालो लागेको बताउँदै आएका छन्। यसैको पछिल्लो कडीको रूपमा सोमबार बैंकरहरूले नेपाल राष्ट्र बैंकमा बुझाएको स्प्रेडसम्बन्धी पछिल्लो नीतिको विरोधपत्रलाई पनि लिन सकिन्छ। गत चैतमा शंकर कोइराला अर्थमन्त्री बनेदेखि नै निकै असहज महसुस गर्दै आएका गभर्नर युवराज खतिवडाले त्यसपछि आफ्नो भविष्य केलाउन नियमित रूपमा मध्यबानेश्वरस्थित एकजना चर्चित ज्योतिषीकहाँ धाउने
गरेका छन्। गत वैशाखमा नै हात देखाउन जाँदा वशिष्ठ ज्योतिष अनुसन्धान केन्द्र बानेश्वरका आचार्य सन्तोष वाशिष्ठले गत असोजसम्म खतिवडालाई शारीरिक रूपमा निकै हानि हुने भविष्यवाणी गरेका थिए। नभन्दै उनलाई गत असोजको पहिलो साता बानेश्वरस्थित एक हलमा खतिवडा समाजको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मुटुमा गम्भीर समस्या देखिएपछि तत्काल गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको थियो। चिकित्सकले मुटु सञ्चालनको निम्ति छातीमा एक महँगो यन्त्र (पेसमेकर) राखेपछि झन्डै तीन सातापछि मात्र उनी नियमित काममा फर्केका थिए।
                       ज्योतिषीको त्यही भविष्यवाणीलाई दृष्टिगत गर्दै यतिखेर पनि उनी आगामी दिनमा आफूलाई आइपर्न सक्ने राजनीतिक समस्या र गभर्नरको पदीय भविष्यप्रति चिन्तित हुँदै उनै ज्योतिषी आचार्य सन्तोष वाशिष्ठसँग राशिफल देखाउन व्यस्त रहेको स्रोतले बताएको छ। स्रोतका अनुसार ज्योतिषीले गभर्नरलाई नयाँ मन्त्रिमण्डलको गठनलगत्तै आगामी माघभर वा झन्डै–झन्डै यो वर्ष नै शुभ नरहेकोले सचेत भएर कार्य गर्न सुझाएका छन्। मन्त्रालय र सम्बन्धित निकायका प्रमुखसँग राजनीतिक द्वन्द्व बढ्ने योग देखिएको पनि ज्योतिषीलाई उद्धृत गर्दै समाचार स्रोतले बताएको छ।