Monday, June 23, 2014

पर्वतमा एमाओवादी विभाजन, तीन दिनमै दुई छुट्टाछुट्टै कमिटि

सिर्जनशिलको नेतृत्वमा नयाँ कमिटि घोषणा 
लक्ष्मीप्रसाद सापकोटा-
          पर्वत, ९ असार । पर्वतमा एमाओवादी दुई खेमामा विभाजन भएको छ । गत शनिवार संस्थापन पक्षका मानिने कृष्ण पराजुलीको अध्यक्षतामा जिल्ला कार्यसमिति चयन भएलगत्तै संस्थापन पक्षकै मानिने केशव कुँवर सिर्जनशिलको नेतृत्वमा ५१ सदस्यीय नयाँ कमिटि घोषणा गरेको हो । पराजुलीको नेतृत्वमा गठित कमिटि पार्टीको एउटा उपगुट मात्र भएको र पार्टीका अधिकांश सदस्यहरु बाहिर भएको भन्दै नयाँ पार्टी घोषणा गरिएको नवगठित कमिटिका अध्यक्ष सिर्जनशिलले जानकारी दिए । सोमवार पत्रकार सम्मेलन गरी आधिकारीक रुपमा एमाओवादी पर्वत जिल्ला कार्यसमितिको नयाँ कमिटि घोषणा गरिएको हो । नवघोषित कमिटिको उपाध्यक्षमा यमबहादुुर विक, सचिबमा महेन्द्रजंग लामिछाने,
सहसचिबमा कृष्ण बिक र कोषाध्यक्षमा कमला भण्डारी रहेका छन् । उनीहरुले आफ्नो कमिटिमा प्रचण्ड, बाबुराम र नारायणकाजीको बिचारमा आवद्ध सवै सदस्यहरु सहभागि भएकाले आधिकारीक कमिटि भएको भन्दै पराजुलीको नेतृत्वमा गठित कमिटि आफ्नै कमिटिमा फर्किने दावी समेत गरेका छन् । नवघोषित कमिटिका पदाधिकारीहरुले गत वैशाख ९ गते आयोजित जिल्ला सम्मेलन समेत बहिष्कार गरेका थिए । सम्मेलन आयोजक समितिमा रहेका बहुमत सदस्यहरुलाई बाहिर राखेर एकलौटी ढंगले संस्थापन गुटको नाममा खडा गरिएको संगठन आधिकारीक नहुने भन्दै केन्द्रिय कमिटिमा समेत उजुरी गरेपनि कुनै सुनुवाई नभएपछि नयाँ जिल्ला कमिटि घोषणा गर्न बाध्य भएको सचिब महेन्द्रजंग लामिछानेले जानकारी दिए । जिल्ला सम्मेलन आयोजक समितिका २८ जना सदस्यमध्ये आफ्नो पार्टीमा १८ जनाको सहभागिता रहेको लामिछानेले बताए । उनका अनुसार जिल्ला कमिटि गठनका लागि पटक पटक छलफल र बार्ता हुँदा समस्या समाधान गर्न पहल गर्नुको सट्टा, विधि र प्रकृया मिचेर केहि व्यक्तिको इशारामा गठन गरिएकोले नयाँ कमिटि जन्माउनु परेको हो । नयाँ कमिटिले पार्टी पुर्ण रुपमा विभाजन भएको स्वीकार नगरेपनि संस्थापन पक्ष एकातिर र अर्कोतिर बाबुराम र नारायणकाजी पक्षको मानिएको छ । अध्यक्ष सिर्जनशिलले केन्द्रमा नयाँ सन्देश दिनका लागि पनि आफुहरुले नयाँ कमिटि घोषणा गरेको जानकारी दिए । उनले भने पाटीमा लामो समयदेखि योगदान गरेका व्यक्तिहरु भएकोले पराजुलीको नेतृत्वमा रहेको कमिटिको कुनै अर्थ छैन त्यो हामीतिरनै फर्किन्छ । पराजुलीको नेतृत्वमा रहेको कमिटिमा उपाध्यक्ष पद खाली राखिएको थियो । भने सचिबमा ढाकाराम गौतम, सहसचिबमा दिपक आचार्य र कोषाध्यक्षमा विमला सुवेदी चयन भएका छन् । उनिहरु सवै प्रचण्ड पक्षका हुन् । खाली राखिएको उपाध्यक्ष पदमा बाबुराम पक्षका सदस्यलाई राखेर कमिटि पुरा गर्ने योजना रहेपनि नयाँ कमिटि घोषणा भएसँगै उक्त योजना पुरा हुन नसक्ने भएको छ । यता एमाओवादीका जिल्ला अध्यक्ष कृष्ण पराजुलीले तेस्रो जिल्ला सम्मेलनवाट आफ्नो नेतृत्वमा नयाँ कमिटि निर्वाचन समितिले घोषणा गरेको हुनाले पहिलेकै समिति आधिकारीक रहेको दावी गरे । उनले केहि मनोविज्ञान भत्केका साथीहरुले घोषणा गरेको भए आफुलाई कुनै जानकारी नभएको भन्दै दुई तिहाई सदस्यहरुको बैठकले आफुलाई सर्वसम्मत रुपमा चयन गरेको बताए । पार्टीको आधिकारीक लाईन भन्दा बाहिर गएर गठन भएको कमिटिलाई एमाओवादीको जिल्ला कमिटि भन्न नमिल्ने समेत उनले बताए ।

No comments:

Post a Comment