Madhav Pd Ghimire                काठमाडौं। मुख्यसचिवबाट अवकाश पाएपछि गृहमन्त्री बनेका माधवप्रसाद घिमिरेले गृह मन्त्रालय मातहतका सुरक्षा निकायमा तजबिजी अधिकार प्रयोग गरी सरुवा बढुवा गरेका छन्। प्रहरी महानिरीक्षक कुवेरसिंह रानाको अधिकारलाई समेत अघोषित रूपमा मानव स्रोत विभागका एआईजी गंगा पाण्डेमार्फत प्रभावित पारी सरुवा बढुवामा हस्तक्षेप गरेको स्रोतले बताएको छ।
                  मन्त्री घिमिरेले एमाओवादी र एमालेको जोडबलमा भ्रष्ट भनिएका प्रहरी अधिकृतहरूलाई बढुवा मात्रै गरेनन्, आर्कषक ठाउँमा सरुवासमेत गरिदिए। उनले सरुवामा सहमति गरिदिएबापत मानव स्रोत विभागका प्रमुख एआईजी पाण्डेले मन्त्री
घिमिरेलाई करिब करोडको हाराहारीमा रकमसमेत बुझाएको स्रोतले दाबी छ। यद्यपि गत शनिबार लुम्बिनी पुगेका उनले सचिव र आईजीमाथि विश्वास गर्दा घात भएको बताए। स्रोतका अनुसार एआईजी पाण्डेले चन्द्रकुवेर खापुङ, दयानिधि ज्ञवाली, राजेन्द्र थापा, गणेश चन्द, एसपी गणेश ऐर, धिरजप्रताप सिंह, नारायणसिंह खड्का, हरि पाल, दिलीप चौधरीको सरुवामा ठूलै रकम चलखेल गरेको बताइन्छ। त्यसैगरी, अभिनारायण काफ्ले र उमेश जोशी, वीरबहादुर बूढा, प्रभु ढकालको  सरुवामा पनि आर्थिक लेनदेन भएको प्रहरी प्रधानकार्यालय स्रोतले दाबी गरेको छ। ‘सरुवामा एआईजीको मात्र होइन, मन्त्री आफैंले पनि डिल गरेका छन्,’ स्रोतले भन्यो, ‘मन्त्रीले यसअघिको बढुवा र सरुवामा पनि लबिङ गरेकै हुन्, अहिले पनि ठूलै संख्यामा चलखेल भएको छ। बौद्धका डीएसपी मनोज केसी अझै सरुवामा नपर्नु यसको गतिलो उदाहरण हो।’
                             गृहमन्त्री घिमिरेले निर्वाचन आचार–संहिता लाग्ने अघिल्लो दिन मात्रै सबै सरुवा र बढुवाको फाइललाई अगाडि बढाउन निर्देशन दिएका थिए। सोहीअनुसार गत हप्ता मध्यरातिसम्म सरुवा बढुवामा प्रहरी प्रधान कार्यालयस्थित कर्मचारी प्रशासन फाँटका एसपी बसन्त लामा सक्रिय थिए। त्यसयता ठूलो संख्यामा सुरक्षाकर्मीहरूको सरुवा बढुवा गरिएको छ। मन्त्री घिमिरेले नेपाल प्रहरीको सरुवामा मात्रै हस्तक्षेप गरेका छैनन्, सशस्त्र प्रहरीका उच्च अधिकारीहरूको सरुवा बढुवामा पनि रामै्र हस्तक्षेप गरेको स्रोतको दाबी छ। गृह मन्त्रालय तथा मातहतका निकायहरूले चुनावी सुरक्षालाई ध्यान दिँदै सात महिनाअघि सरुवा भएका सुरक्षा अधिकारीहरूलाई पनि सरुवा गरेको छ।
                     बढुवा भएर पनि महानगरीय प्रहरी परिसर काठमाडौंको अप्रेसन शाखामा रहेका उत्तम सुवेदीलाई जिल्ला प्रहरी कार्यालय धनुषाको प्रमुख बनाइएको छ भने महानगरीय आयुक्त कार्यालयका धिरजप्रताप सिंहलाई तराईको आकर्षक तथा चुनौतीसमेत रहेको पर्सा प्रहरी प्रमुख बनाइएको छ। त्यस्तै, महानगरीय अपराध महाशाखामा रहेका प्रद्युम्न कार्कीलाई जिप्रका चितवन प्रमुख बनाएको छ भने नारायणसिंह खड्कालाई काठमाडौं परिसरमा ल्याइएको छ। काभ्रेमा केन्द्रीय अनुसन्धान ब्युरोबाट अरुणकुमार बिसीलाई पठाइएको छ, यसअघि त्यहा कमलबहादुर घर्ती थिए। सर्लाहीमा रवीन्द्रकुमार धानुकलाई पठाइएको छ भने उपत्यकाको आकर्षक मानिने भक्तपुरमा जगतमान श्रेष्ठ र गणेश ऐरलाई मकवानपुर पठाइएको छ। एमाओवादी अध्यक्ष पुष्पकमल दाहालका पीएसओ शरदकुमार खत्रीलाई कृष्णबहादुर महराको जोडमा दाङ, हरिबहादुर पाललाई महानगरीय अपराध महाशाखा, दिलीप चौधरीलाई भक्तपुरबाट एयरपोर्ट, राजेन्द्रप्रसाद चौधरीलाई कञ्चनपुर, घनश्याम अर्याललाई कैलालीबाट ललितपुर परिसर, एमाले नेता माधव नेपालको सुरक्षा गर्न नसकेको आरोपमा चितवनबाट काठमाडौं तानिएका विष्णुहरि गौतमलाई नवलपरासी, अपराध महाशाखामा बसेर करोडभन्दा माथि कमाएको आरोप लागेका दिनेश अमात्यलाई सप्तरी, जनआन्दोलनको समयमा सिंहदरबार प्रभागमा बसेर चरम दमन गर्ने गोपीमान श्रेष्ठलाई तनहँुको प्रमुख बनाई पुरस्कृत गरिएको छ। प्रबन्ध शाखामा बसेर प्रतापसिंह थापामार्फत आईजीलाई करोडौं रुपैयाँ घुस खुवाउने विश्वराज पोखरेललाई मोरङ पठाइएको छ। उनले मोरङ जानेवित्तिकै घुस नखाने प्रतिबद्धता जनाउँदा प्रहरी प्रधान कार्यालयमा उनका समकक्षीहरू ‘अघाएको छ कि के हो’ भन्दै ठट्टा गरिरहेका थिए।  पूजा सिंहलाई इटहरी पठाइएको छ भने पिताम्बर अधिकारीलाई केन्द्रीय अनुसन्धान ब्युरो, पूर्णचन्द्र जोशीलाई सिरहा, विक्रम थापालाई रूपन्देही, मोहनराज जोशी कैलाली र निरजबहादुर शाही लागुऔषध अनुसन्धान ब्युरोमा सरुवा भएका छन्। बढुवामा परेका दिलीप घिमिरेलाई लागूऔषध ब्युरो बानेश्वर, महाशाखामा रहेका प्रजित केसीलाई ट्राफिक महाशाखामा, सन्तोषसिंह राठोरलाई धनुषा, वामदेव गौतमलाई अञ्चल प्रहरी कार्यालय धौलागिरी, विनोदराज खरेललाई केन्द्रीय समाचार कक्ष र कृष्ण खड्कालाई क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतमा पदस्थापन गरिएको छ। उनीहरूमध्ये गौतम दरबारमार्गमा हुँदा घुस खाएको अभियोगमा निलम्बनमा परेका थिए।
                      त्यस्तै। काठमाडांै उपत्याकामा भएका प्रहरी प्रभागहरूमा पनि डीएसपी खटाइएको छ। दरबारमार्गमा चन्द्रकुवेर खापुङ आएका छन्। उनी माधव नेपालका पीएसओ हुन्। जनसेवामा उमेश जोशी, गौशलामा अविनारायण काफ्ले, सोह्रखुट्टेमा गणेश चन्द, राजेन्द्र थापालाई सातदोबाटो, वीरबहादुर बूढालाई थानकोट, गंगा पन्तलाई बालाजु र प्रभु ढकाललाई महाराजगन्ज सरुवा गरिएको छ। ढकाल एआईजी नवराज ढकालका आफन्त हुन्। त्यस्तै, आभूषण तिमल्सिनालाई स्याङ्जा सरुवा गरिएको छ भने पवन गिरीलाई संखुवासभा, गुण्डाका नाइके चरीसँग रकम मागेको आरोप लागेका दयानिधि ज्ञवालीलाई स्वयम्भू, सोमेन्द्रसिंह राठोरलाई ललितपुर परिसर, रमेश थापा भक्तपुर परिसर र त्यहाँका प्रवक्ता चक्रबहादुर सिंह जाजरकोट सरुवा गरिएको छ। यी सबै सरुवा र बढुवा प्रहरी महानिरीक्षक राना मन्त्री अगाडि निरीह भएका छन्। एआईजी पाण्डेले लगेको फाइलमा मन्त्रीले स्वीकृत गर्नुको विकल्प नभएको भन्दै सोहीअनुसार बढुवा र सरुवा निकाल्न मन्त्रीले निर्देशन दिएका थिए।