काठमाडौं। प्रहरी महानिरीक्षक कुवेर सिंह रानाको गृह प्रबन्ध शाखा (निवास) हेर्दै आएका उनकै भान्जा यामबहादुर झेडी मगरले प्रहरीको सरुवा–बढुवा तथा खरिद प्रकरणमा चासो दिने तथा त्यसको सेटिङसमेत मिलाएर अर्थापार्जन गर्न थालेको चर्चा छ। रानाको सेवाअवधि छोटिदै जाँदा भान्जा झेडी मगरको चलखेलले व्यापकता पाएको गुनासो छ।
                           मगरले महाराजगन्जमा ‘हिमालयन यात्रा’ नामको टुर्स एण्ड ट्राभल्स सञ्चालन गर्दै आएका छन्। उनका पछिल्ला क्रियाकलापले महानिरीक्षक राना प्रहरी संगठनभित्र विवादमा तानिन थालेका छन्। प्रहरीमा गरिएको पछिल्लो सरुवा तथा बढुवामा भान्जा झेडी मगरको सेटिङले गर्दा प्रहरी
संगठनभित्र मामा रानाप्रति चर्काे असन्तुष्टि बढेको बताइन्छ। प्रहरी स्रोतका अनुसार, अधिकांश विवादमा तानिएका र पैसाकै चलखेलका कारण पटक–पटक राम्रो ठाउँ पाउने गरेका प्रहरीका अधिकृतहरुसँग मगरले अंकमाल गर्ने गरेका छन्। उनसँग सेटिङ मिलाएकै कारण आकर्षक ठाउँ पाउने तथा बढुवा हुने थुप्रै विवादित प्रहरी अधिकारीको सूची लामै छ।
                         महानिरीक्षक रानाकै सल्लाहमा हो वा रानालाई ओझेलमा पारेर हो मगरको चलखेल निकै रहेको थियो भनी प्रहरीको कर्मचारी प्रशासन शाखाका प्रहरीहरु चर्चा गरिरहेका छन्। हरेक सरुवामा आकर्षक पोष्टिङका लागि मगरको लामो सूची प्रहरी महानिरीक्षकको निवासबाटै जाने गरेको पनि उनीहरुले चर्चा गर्ने गरेका छन्। विगतमा सरुवामा मात्रै चासो दिने गरेका झेडीमगरले यस पटक भने एसएसपी,
                                  एसपी र डीएसपी बढुवामा समेत निकै चासो दिएको प्रहरीको उच्च स्रोतले ‘नयाँ विमर्श’ लाई जानकारी दिएको छ। झेडी मगरले प्रहरीको खरिद प्रकरणमा समेत चासो राखी कमिसन हात पार्ने कार्य गरिरहेको पनि स्रोतले जानकारी दिंदै भन्यो, आफै व्यापारी लिएर प्रहरीको प्रबन्ध र कल्याण शाखामा धाउने गरेका झेडी मगरले मामा कुवेर सिंह राना आईजीपी बनेपछि राम्रै धनराशी हात पार्न सफल भएका छन्।’ विगतमा बढुवा दिनै नमानेका र सरुवा गर्नै नमानेका प्रहरी महानिरीक्षक रानाले समेत पछिल्लो बढुवा र सरुवामा मगरकै सिफारिसअनुसार निर्णय गर्नुको पछाडि ठूलै रहस्य लुकेको अनुमान छ। कतिपयले महानिरीक्षक रानाकी पत्नीलाई खुशी पारेर भान्जा झेडी मगरले चलखेल गरेको पनि चर्चा छ। आर्थिक विवादमा पर्नै नचाहने राना दम्पत्तिलाई भान्जा झेडी मगरले गुमराहमा राखी अकुत सम्पत्ति हात पार्ने कार्य गरिरहँदा महानिरीक्षक राना चूप लागेर बस्नु नहुने भनी केही व्यक्तिले रानालाई सुझाउने कर्म पनि गरिसकेका छन्।