Saturday, July 27, 2013

भारतीय दुतावासको सहयोगमा क्याम्पसमा भवन

IndianFlag3सन्तोष गौतम, 
             म्याग्दी २०७० साउन ११ । काठमाडौ स्थित भारतीय दुतावासको करिब तीन करोड रुपैया सहयोगमा बेनी स्थित म्याग्दी बहुमुखी क्याम्पसमा भवन निर्माण भएको छ ।
          क्याम्पस परिसरमा आठ÷आठ कोठे दुई वटा कक्षा कोठा र अर्को आठ कोठे छात्र छात्रावास भवन निर्माण भएको हो । अन्तिम चरणमा रहेको भवन निर्माण योजनाका लागि भारतीय दुतावासले २ करोड ७९ लाख रुपैया सहयोग उपलब्ध गराएको म्याग्दी बहुमुखी क्याम्पसका प्रमुख कृष्णबहादुर
थापाले जानकारी दिए ।
             वि.स २०६८ साल जेठबाट निर्माण सुरु भएको भवन निर्माण कार्य दुई वर्षमा सम्पन्न भएको हो । समुदायस्तरबाट सञ्चालित म्याग्दी क्याम्पसमा शिक्षा, व्यवस्थापन र मानविकी संकायतर्फ एक हजार जना विद्यार्थीहरु अध्ययनरत छन् ।
          २०४८ सालमा स्थापना भएको क्याम्पसमा विद्यार्थीको चाप संगै भवन लगायत पुर्वाधार विस्तार गरिएको छ । त्रिभुवन विश्व विद्यालय अनुदान आयोगको सहयोगमा यस वर्ष क्याम्पस परिसरमा १६ लाख ७५ हजार रुपैया लगानीमा खेलमैदान पनि निर्माण गरिएको छ ।
           आयोगकै थप १२ लाख ७५ हजार रुपैया सहयोगमा दुई सय मिटर सिँढी सहितको पक्कि पदमार्ग निर्माण भएको छ भने निर्माण व्यवसायी संघ म्याग्दीले एक वटा प्रतिक्षालय निर्माण गरेका क्याम्पस प्रमुख थापाले जानकारी दिए ।

No comments:

Post a Comment