काठमाडौं, असार ६ – संविधान निर्माणदेखि जनजीविकाका सवालका बीचमा तत्कालका लागि राजनीतिक कार्यगत एकता र दीर्घकालमा पार्टी एकता गर्ने गरी एकीकृत माओवादी र नेकपा–माओवादीका शीर्ष नेताहरूबीच बाक्लो संवाद भएको छ । यो प्रक्रियामा मातृका यादवको नेकपा–माओवादी, मणि थापाको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र परि थापाको नेकपा एकीकृत पनि जोडिएका छन् । तर, यो ऐतिहासिक भनिएको प्रक्रियामा भने एकीकृत माओवादीका एक वरिष्ठ नेताको भूमिका भने शंकास्पद देखिएको छ । ती हुन्, एकीकृत माओवादीका महासचिव कृष्णबहादुर महरा । आखिर उनको भूमिका किन शंकास्पद भयो त ? यसको रोचक कहानी छ । जबकि यसअघिसम्म दुई माओवादीबीच एकतामा उनी सूत्रधारका रुपमा देखा परेका थिए । संविधानसभाको चुनावलगत्तै उनले आफ्नो निवासमा प्रचण्ड र किरणलाई बोलाएर वार्ता गराएका थिए भने त्यसपछि पनि विभिन्न चरणमा
वार्तामा सहभागी भएका थिए । त्यसो त उनी हेटौंडा महाधिवेशनपछि पनि एकचरण एकतामा लागेका थिए । किरण नेतृत्वको नेकपा–माओवादीसँग एकताका लागि सबैभन्दा उनी दौडधुपमा थिए । उनी पार्टी विभाजनपूर्व किरणको कित्तामा रहने नेता थिए । विभाजनका वेला उनले प्रचण्डकै साथ छाडेनन् । उनका नजिकका भनिएका धेरै नेता अहिले पनि किरण माओवादीमा छन् । एकताका लागि यति धेरै मिहिनेत गरिरहेका महराले राष्ट्रिय सम्मेलनपछि भने आफ्नो बोलीमा केही फरक कुरा ल्याएका छन् । यसले वैद्य माओवादी हेडक्वाटरमा नयाँ बहस जन्माएको छ । महरा किन एकतामा त्यति चासो राख्न छाडे ? बुद्धनगरमा बहस हुन थालेको छ । आफू निकटका नेताहरूको भेलामा वैद्यले महराको यो प्रवृत्तिबारे ब्रिफिङ गरेका रहेछन् । उक्त भेटमा सहभागी एक नेता भन्छन्– किरण कमरेडले महराको यो रहस्यमय मौनताबारे बडो चासो राख्नुभयो । उहाँले त्यही खालको ब्रिफिङ पनि हामीलाई सुनाउनुभयो । वैद्य माओवादीको निष्कर्ष के रहेछ भने राष्ट्रिय सम्मेलनबाट महासचिव भएपछि महराले एकतामा चासो कम दिएका हुन् । महराले आफ्नो पद सुरक्षित गर्नका लागि एकता प्रक्रियामा त्यति चासो नराखेको वैद्य माओवादीका नेताहरूको निष्कर्ष रहेको स्रोत बताउँछ । वैठकका भनाई उद्धृत गर्दै स्रोतले बतायो–बुद्धनगरमा मोहन वैद्यले रामबहादुर थापा, देव गुरुङ, पम्फा भुषाल र हितमान शाक्यसँगको कुराकानीमा भनेका थिए, ‘कतै महराको अर्कै दाउ त छैन ।’ वैद्यको कुरा सुनेपछि गुरुङले मुख खोल्दै भनेका थिए, ‘ठकुरीसँग महराको राम्रो सम्बन्ध छ ।’ ठकुरी भन्दै उनले पार्टी सचिव नेत्र विप्लव चन्द प्रति उनको संकेत थियो । हुन त महरा हेटौंडा महाधिवेशनबाटै महासचिव बन्न चाहन्थे । तर, त्यहाँ उनी महासचिव हुन सकेनन् । राष्ट्रिय सम्मेलनपछि भएको पदाधिकारी निर्वाचनमा उनी महासचिव भए । सहमतिमा उनलाई महासचिवमा जिताइएको थियो, सहमति विनाकै चुनाव भएको भए उनको पद खतरामा थियो । पूर्व महासचिव बोगटीले उदारता देखाएर आफू उपाध्यक्ष बस्न तयार भएपछि महराको लागि महासचिव हुने बाटो खुलेको थियो । यद्यपि अन्तिम समयसम्म वर्षमान पुनले मानेका थिएनन् । यद्यपि बाबुराम भट्टराई समूहले भने आफू चुनावमा सहभागी नभए पनि महरालाई महासचिव बनाउन चाहेको थियो । यसअघि पाँच पार्टीले कार्यगत एकताका लागि संयुक्त बैठक गरेका छन् । यसबारे ठोस धारणा बनाउन ७ असारमा एकीकृत माओवादी मुख्यालय पेरिसडाँडामा बैठक आह्वान गरेका छन् । सम्भवतः त्यहाँबाट संयुक्त मोर्चा निर्माणको विषयमा औपचारिक दस्तावेज आउने छ । भद्र र कम बोल्ने स्वभावका महराले पार्टी महासचिव भएपछि पनि आफ्नो कार्यशैलीमा परिवर्तन गर्न नसकेको एकीकृत माओवादीका नेताहरू बताउँछन् । महराको कछुवाकै गतिले काम गर्न गाह्रो हुने केही नेताहरूको भनाइ छ ।
No comments:
Post a Comment