काठमाडौं।
लामो समयदेखि काठमाडौंमा बसेर गैरकानुनी रूपमा महिलाहरूलाई विदेश पठाउँदै
आएकी झापाकी माया राई रंगेहात पक्राउ परे पनि प्रहरीले उन्मुक्ति दिने
प्रयास गरेको छ।
मूलपानीको एक घरमा आधा दर्जन महिलासँगै भेटिएकी उनलाई
महानगरीय प्रहरी वृत्त बौद्धले जीउ मास्ने बेच्ने अभियोगअन्तर्गत मुद्दा
चलाउनुपर्नेमा आर्थिक लेनदेनबाट प्रभावित भई प्रमाण नपुगेको भन्दै धरौटीमा
रिहा गर्ने प्रयास गरेको पीडितले आरोप लगाएका छन्। राई र
मकवानपुरगढी गाविसको कुर्ले भन्ने स्थानकी माइली तितुङ मिलेर
मकवानपुर फाखेलबाट ३८ वर्षीया सुनमाया पाखि्रनलाई असार १३ गते फाखेलस्थित
गाउँबाटै ‘राम्रो रोजगारीमा विदेश पठाइदिन्छौं तर कसैलाई पनि भन्नु हुन्न’ भन्दै फकाएर फर्पिङ ल्याएकी थिइन्।
राई र तितुङले ती महिलालाई सोझै हैटौंडा पुर्याएर राहदानीका लागि सिफरिस
बनाउन लगाई काठमाडौंमा आएर आफैंले राहदानी बनाउन पैसा तिरिदिएका थिए।
पटक–पटक गाउँका सोझासीधा महिला ल्याएर अलपत्र पार्दै आएको सो गिरोहबारे
तथ्य फेला पार्दा पनि प्रहरी भने आवश्यक प्रमाण पुगेन भन्दै कडा कारबाही
गराउनमा पन्छिन खोज्नुलाई धेरैले रहस्यका रूपमा हेरेका छन्। गाउँबाट १३
गतेदेखि नै सो गिरोहको फन्दामा परेकी सुनमायालाई मोबाइल समेत जफत गरेर
तीनकुने भन्दै सुन्दरीजलमा लगेर राखिएको उनले बताइन्। सुनमायाका श्रीमान्
पूर्णबहादुर पाखि्रन काठमाडौं आएर आफ्नी श्रीमतीलाई माइली तितुङले
विभिन्न प्रलोभन देखाई भगाई बेपत्ता बनाएको भन्दै महानगरीय प्रहरी परिसर
काठमाडौंमा खोजतलासका लागि निवेदन दिए। प्रहरीले निवेदक पाखि्रनले शंका
लागेर दिएको मोबाइलको कल डिटेल र लोकेसन सर्च गरेर सो मोबाइल बोक्ने
मान्छेलाई फेला पार्यो। पीडितले बताएअनुसार मायाले त्यहाँ धेरै महिलालाई
बन्धक बनाएर कसैसँग सम्पर्क समेत गर्न नदिई विभिन्न नक्कली कागजातका आधारमा
घरेलु श्रम गर्न विदेश पठाउँदै आएकी थिइन्।पक्राउ पर्ने दुई दिनअघि मात्र पनि एक महिलालाई कुबेत पठाएको बताइन्छ। जबकि कुवेतमा महिलाहरू घरेलु श्रम गर्न जान प्रतिबन्धित छ। मायाको आफ्नो आधिकारिक कुनै म्यानपावर कम्पनी नभएकाले उनले व्यक्तिगत भिसाबाट भारतमा लगेर महिलाहरू उडाउने गरेको बताइन्छ। यता, प्रहरीले मायालाई पक्राउ गरे पनि गाउँबाट महिलाहरू फकाएर ल्याउने मुख्य अभियुक्त माइली तितुङविरुद्ध भने किटानी जाहेरी दिए पनि पक्राउ गरेको छैन। उनी शनिबार मात्र मोटरसाइकलमा माया राईका मान्छेहरू लिएर फाखेल पुगी गाउँलेलाई धम्काएको गाउँलेहरूले बताए। माया राईले झापामा बसेर पनि लामो समय अवैध धन्दा गरेकाले उताको रेकर्ड समेत खोजेर प्रमाण जुटाउने प्रयास भइरहेको माइती नेपाल स्रोतले बतायो। माइली तितुङले तीन महिना अघिमात्र हरिबहादुर पाखि्रनकी श्रीमती सुनमाया पाखि्रनलाई मायाकै साथबाट विदेशमा रोजगारीका लागि पठाएकी थिइन्। उनको पनि अवस्था चिन्ताजनक रहेको र कहिलेकाहीँ उनले विदेशबाट रुँदै टेलिफोन गर्ने र गफ पूरा नहुँदै फोन खोस्ने गरेको परिवारले बतायो।
यता, प्रहरीले भने आफूहरूले इमानदार प्रयासका साथ प्रमाण खोजिरहेको तर प्रमाण नभेटिएको बताएको छ। वृत्तका डीएसपी मनोज केसीले अनुसन्धान जारी रहेको र केस साह्रै जटिल नभई नागरिकताको प्रमाणपत्र माया राईले लिएको मात्र भएकाले सार्वजनिक अपराधमा मुद्दा लगाउने प्रयास भइरहेको बताए। सार्वजनिक अपराधमा तीन पटकसम्म म्याद थपी धरौटीमा रिहा गर्न सक्ने प्रावधान छ।
No comments:
Post a Comment