Saturday, January 11, 2014

बाबुरामको हास्यास्पद तर्क

             २८ पौष काठमाण्डौ आवश्यक परेमा अध्यक्ष पद समेत लिन्छु भन्दै आक्रामक ढंगले अन्तरसंघर्षमा हेलिएका बाबुराम भट्टराई शुक्रबार एकाएक १८० डिग्री फन्को मारेर एक वर्षसम्म कुनै महत्वपूर्ण पद नलिई बाहिर र भित्र विधिका लागि लड्ने बताउँदै पछि हटेका छन् ।
                  उनी किन यसरी पछि हटे त ? बाबुरामले साँच्चै ठूलै त्याग देखाएकै हुन त ? फेरि राजनीतिक वृत्तमा चर्चा प्रारम्भ भएको छ । बाबुरामको बारेमा निकटबाट जानकारी राख्नेहरुले भन्छन्– अब बल्ल उनले व्यवस्थित ढंगले लड्ने योजना बनाए । बाबुरामले जहिले पनि पार्टीमा राजीनामा दिएर आफ्नो पक्षमा पहल लिने गरेका छन् । जनयुद्ध प्रारम्भ गर्नुभन्दा केही अघि अर्थात् २०५१ सालमा उनीले पार्टीबाट राजीनामा दिएर दिल्ली पढ्न जाने बताएका थिए । त्यतिखेर राजीनामा जनमोर्चाको अध्यक्षबाट उनलाई हटाएर पम्फा भुसाललाई ल्याएपछिको असन्तुष्टिका कारण थियो । जनयुद्धको तयारीका लागि पार्टीका जिम्मेवार नेतृत्वहरु आन्तरिक रुपमा बढी लाग्नुपर्ने निर्णय गर्दै उनलाई पार्टीमा खटाइएको थियो । पुनः जनमोर्चाको अध्यक्षमा पुर्नस्थापित भएपछि उनले सक्रियतापूर्वक काम गरे।
             २०६० सालको रोल्पाको फुन्टिवाङको केन्द्रीय समितिको वैठकमा पार्टी, सेना र मोर्चालाई केन्द्रीकरण गर्ने र परिषदको अध्यक्ष पनि प्रचण्ड बन्ने निर्णय भएपछि बाबुरामले पार्टीको स्थायी समितिबाट राजीनामा दिएर केन्द्रीय सदस्यमा मात्र बस्ने बताए । धेरै जोड बल गरेपछि स्थायी समितिमा बस्न माने । त्यसपछि बाबुरामले चार बुँदे र १३ बुँदे असहमति प्रकट गरे ।
               आफ्नो संगठनात्मक अवस्था पार्टीमा एकदमै कमजोर भएकाले बाबुरामले जुधेर भन्दा पनि घुर्की लगाएर र बाहिर लडेर आफ्नो पक्षमा पहल लिन खोज्छन्, अहिले त्यसै गरेका हुन् । जनयुद्धकालमा बाबुरामले धेरै पटक राजीनामा दिने र फिर्ता गर्ने कार्य गरेको एमाओवादीवृत्तमा चर्चा छ ।
               अहिले बाबुरामले खोजेको संसदीय दलको नेता हो । पार्टी प्रमुख प्रचण्ड र मोर्चामा आफू बस्ने मोडेल उनले खोजेका हुन् । तर, प्रचण्डले त्यो पद नदिने निश्चित भएपछि बाबुरामले अहिले घुर्की लगाएका हुन् । प्रचण्डले अहिले दिदै नदिने पद संसदीय दलको नेतामा आफू नबस्ने भनेर त्यागेको तर्क सार्वजनिक रुपमा गर्नुलाई हास्यास्पद रुपमा सर्वत्र लिइएको छ ।

No comments:

Post a Comment