Thursday, October 3, 2013

नीलकण्ठले भने, ‘निर्वाचन सर्ला जस्तो छ’

nilkantha-upretiगेहेन्द्र शर्मा/राजकुमार सिग्देल
               कार्यालय समय सकिनै लागेको थियो ।  निर्वाचन आयोगका प्रमुख आयुक्त नीलकण्ठ उप्रेती एकाएक अन्य आयुक्तहरुको कार्यकक्षमा प्रवेश गरे । थचक्क बस्दै प्रमुख आयुक्त उप्रेतीले लामो सास ताने र भने, ‘निर्वाचन पर सर्ला जस्तो छ । दबाब थेग्नै नसकिने भो । भर्खरै सानेपाबाट पनि फोन आयो, निर्वाचन सार्ने वातावरण बनाउनुपर्‍यो भनेर । सुशील कोइराला आफैंले फोन गर्नुभो । उता बल्खुबाट पनि नेताहरु चुनावमा जान नसकिने भो भन्दै कनकन गरिरहेका छन् । यस्तै एमाओवादीका केही नेताहरु पनि त्यही भन्दैछन् ।’
                   निर्वाचन आयोगमा बुधबार साँझ सानेपास्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालयबाट प्रमुख आयुक्त उप्रेतीलाई स्वयं कांग्रेस सभापति सुशील कोइरालाले फोन
गरेर सोधेका रहेछन्, ‘नीलकण्ठजी, उम्मेदवारी दर्ताको म्याद केही साता पर सार्नुपर्ने भो । माधवजीसँग पनि मेरो कुरा भएको छ । केही समय पर सार्ने वातावरण मिलाउनुर्‍यो’, सभापति कोइरालाको भनाइ उद्धृत गर्दै कांग्रेसका एक बरिष्ठ नेताले भने ।
                    सानेपाबाट फोन आउनुभन्दा एक दिनअघि मात्र बल्खुबाट कसैले फोन गरेर उप्रेतीलाई निर्वाचन पर सर्ने भएकाले त्यही अनुसार तयारी गर्न सल्लाह दिएको थियो । निर्वाचन आयोग सूत्रका अनुसार एमाले र कांग्रेसको चुनावी मनस्थितिबारे चर्चा गर्दै उप्रेतीले आयुक्तहरुसँगको भेलामा भने, ‘कांग्रेस र एमालेलाई चुनाव निल्नु र ओकल्नु भइरहेको छ । टिकट वितरणकै लफडा छ । जताततै बागी उम्मेदवारको बिगबिगी छ । यी पार्टीका नेता चुनावप्रति खासै उत्साहित देखिंदैनन् ।’ त्यसैगरी उप्रेतीले एमाओवादी भने निर्वाचनको व्यापक तयारीमा जुटेको, केही एमाओवादी नेता वैद्य माओवादीलाई पनि निर्वाचनमा ल्याउन सकारात्मक पहल गरिरहेको र सुरक्षा व्यवस्था कडा पारेर निर्वाचन गर्न सकिने अवस्था रहेको चर्चा गर्दै उप्रेती भन्दैथिए, ‘सानेपा र बल्खु रेडी भएनन् । कुनै न कुनै बहानामा निर्वाचन पर सारौं भनिरहेका छन् । हामीलाई त के छ र ? पर सार भने सारौंला, गर भने गरौंला ।’ उप्रेतीले आयुक्तसँग भनेको कुरा एकाएक निर्वाचन कार्यालयमा फैलिएको समाचार स्रोतले बतायो ।
               सानेपा र बल्खुबाट निर्वाचन आयोगमा बारम्बार निर्वाचन प्रकृयाको म्याद पर सार्न दबाब पर्नुको मुख्य कारण यी दलहरुमा टिकट वितरणको किचलो नै हो । सानेपास्थित केन्द्रीय कार्यालयमा सभापति सुशील कोइरालाकै विरुद्ध चर्को नारावाजी शुरु भएको छ । काठमाडौंमा आफ्नो क्षेत्रमा गगन थापालाई टिकट दिइएको झोंकमा सुप्रभा घिमिरेले पार्टी नै त्यागी दिइन् । तनहु कांग्रेसमा चर्को तनाव छ । रामचन्द्र पौडेलविरुद्ध बागी खडा भएका छन् । तनहु“मा पार्टी कार्यालयमै तालाबन्दी भयो । रूपन्देहीका असन्तुष्ट कांग्रेसहरुले कार्यालयमै तोडफोड गरेका छन् । देशभर असन्तुष्टि बढेको छ ।
                एमालेमा पनि टिकट वितरण लथालिंग छ । काठमाडौं १ मा कहिले भुवन केसी त कहिले विद्या न्यौपानेलाई खडा गर्ने काम भइरहेको छ । बाँकेमा एमाले कार्यकर्ताले केन्द्रीय नेता देवराज भारलाई कार्यालयमै थुनिदिए । विजया धितालको साटो पदम धिताललाई टिकट दिएको भनेर भारलाई असन्तुष्टहरुले थुनेका थिए । झलनाथ खनालकै स्वकीय सचिव एमाओवादीमा प्रवेश गरेका छन् ।
चर्को असन्तुष्टिबीच निर्वाचनमा जा“दा हारिने, बागी उम्मेदवार खडा हुने, चुनावमा कार्यकर्ता निष्क्रिय बस्ने र फेरि पनि एमाओवादीकै पोल्टामा निर्वाचनको माहोल खडा हुने देखेपछि यी दुई दल कुनै न कुनै बहानामा निर्वाचन पर सार्ने धुनमा लागेको र त्यसकै लागि विभिन्न च्यानलमा अनेक हौवा चलाइरहेको देखिन्छ । नीलकण्ठलाई दबाब दिनुको मकसद त्यही भएको विश्लेषण गर्नेहरु धेरै छन् ।
                 एमालेका वरिष्ठ नेता माधव नेपालले ‘मुलुकमा ठूलै अनिष्ट हुँदैछ’ भनेर हौवा चलाउनु, बल्खु र सानेपाबाट नीलकण्ठलाई बारम्बार फोन गइरहनु, नीलकण्ठले आयुक्तहरुलाई निर्वाचन पर सर्नेतर्फ संकेत गर्नु, भरत दाहाल जस्ता ‘बिग्रेका कम्युनिष्ट’ले नेपालगंजबाट बसमा फर्कंदा ‘अब ठूलै अनिष्ट हुन्छ’ भनेर भन्नु र वैद्य माओवादीका नेता नेत्रविक्रम चन्द विप्लवले ‘मतपेटिकामा मतपत्र हैन, बम खस्छ’ भन्नु— यी सबै परिदृश्य निर्वाचन विथोल्ने षडयन्त्रसँगै जोडिएका कडी त होइनन् भनेर प्रश्न गर्नेहरु धेरै छन् ।
प्रमुख आयुक्तले आयुक्तहरुसँग निर्वाचन पर सर्न सक्ने संकेत गर्दै छलफल गर्नुभन्दा धेरै अघिदेखि नै आफन्तहरुसँगको भेटघाटमा ‘मंसिरमा निर्वाचन हुन नसक्ने’ दावी गर्र्दै आएका थिए । उप्रेती बन्धुहरुको एक भेलामा केही महिनाअघि उनले भनेका थिए, ‘भन्ने त मंसीरमै निर्वाचन गराउने भनेर भन्नुपर्छ, तर निर्वाचन चैत वैशाखतिर मात्र हुन्छ । अहिले निर्वाचन गर्‍यो भने एमाओवादीलाई फाइदा हुन्छ, अन्य दल निर्वाचनमा जाँदैनन् । त्यसैले मंसीरमा त चुनाव हुँदै हुँदैन ।’
           मंसीरको भन्दै वैशाखमा निर्वाचन गराउने सोचका साथ काम गरिरहेको निर्वाचन आयोगका आयुक्तहरु पनि कामभन्दा गफमै भुलिरहेका देखिन्छन् । आयुक्त अयोधी यादव निर्वाचन आयोगको काममा भन्दा बढी टेलिभिजनमा अन्तर्वार्ता र नेताहरुसँगको भेटघाटमै बढी व्यस्त रहने गरेका छन् । आयुक्त इला शर्माको काम गर्ने शैली झन् सुस्त छ । आयोगका एक कर्मचारी भन्छन्, ‘म्याडमलाई चुनावको कुनै मतलब छैन । कहिले कम्प्युटरमा फेसबूकमै व्यस्त देखिनुहुन्छ । कोही भेट्न आयो भने घन्टांैसम्म गफ गरेर बस्नुहुन्छ । फाइलहरु पेन्डिङका पेन्डिङ छन् । अब हामीले केही भन्नु भएन । म्याडमलाई चुनावको कुनै चासो नै छैन ।’
उता प्रमुख आयुक्त स्वयं पनि केही दिन यता विदेशीहरुसँगको भेटघाटमा व्यस्त रहन थालेका छन् । ‘आयोगमा गोरो छाला भएको मानिस आयो कि सबै काम छाडेर सर (उप्रेती) त घन्टौं गफ गरेर बस्नुहुन्छ । अनेक थरीका विदेशी आउ“छन् । कोही कोही त इलेक्सन इज इम्पोसीबल (निर्वाचन असंभव छ) भन्दै फर्कने गरेका छन् । खै सरको चालामाला त्यति निको लाग्दैन’, आयोगका एक अर्का कर्मचारी भन्छन् ।
प्रमुख आयुक्त उप्रेती एमाले निकट मानिन्छन् । निर्वाचनको तयारीमा आफैंले ढिलाइ गरेर यिनले विगतमा पनि बारम्बार ‘यस्तै भइरहे निर्वाचन गर्न सकिन्न’ भन्दै दलहरुलाई धम्की दिइरहन्थे । केही दिन यता माउ पार्टीको संकेत बुझ्दै उप्रेतीले निर्वाचन पर सर्ने संकेत गरेर आयोगका आयुक्त र अन्य कर्मचारीलाई हतोत्साहित गरिरहेका छन् । प्रमुख आयुक्त उप्रेतीले निर्वाचनको बारेमा जे भने पनि एमाओवादी, कांग्रेस, एमाले र मधेशवादी दल निर्वाचनमा होमिएकाले निर्वाचन सार्न अब कसैले चाहेर पनि नसक्ने स्थिति देखा परेको छ ।

No comments:

Post a Comment