Thursday, April 10, 2014

‘म हात जोडेर भन्छु सबै मिलेर समयमा संविधान बनाइदिनुस्– राष्ट्रपति’

              सिरहा, चैत २७– राष्ट्रपति डा रामवरण यदवले पर्सादेखि सप्तरीसम्मको चुरे जङ्गल उजाड भएकामा चिन्ता व्यक्त गरेका छन् । सिरहाको सारश्वरमा आयोजित विश्वकल्याण शान्ति महायज्ञको उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उनले तीस वर्ष अगाडि पर्सादेखि सप्तरीसम्मको चुरे हराभरा भएकामा अहिले उजाड भएकाले सबै मिलेर चुरे संरक्षण गर्न आवश्यक छ भने । चुरेको विनाश भएका कारण तराईमा पानीको स्रोत नै सुकेर उब्जाउ जग्गा मरुभूमिमा परिणत भएको बताउँदै राष्ट्रपतिले भने,“तराईमा पहिले पोखरी, इनार, तालतलैया सबै भरिभराउ थियो, अहिले सबै पानीको मुहान सुकिसक्यो, अब पनि चुरे जङ्गल संरक्षण गर्न सकेनौँ भने सबभन्दा बढी समस्या हामी तराईवासीलाई नै खेप्नुपर्छ ।”
अर्काे प्रसङ्गमा उनले सबै दल मिलेपछि दोस्रो संविधानसभाको चुनाव शान्तिपूर्वक सम्पन्न भएको हो भन्दै अब दलहरु एकजुट भएमा स्थानीय निकायको चुनाव पनि गराउन सकिने बताए । पाँच वर्ष बित्दा पनि संविधान जारी हुन नसकेकामा दुःख व्यक्त गर्दै राष्ट्रपति डा यादवले अब सबै दलले मिलेर समयमा गणतन्त्रात्मक संविधान जारी गर्नुपर्नेमा जोड दिए । देशमा दिगो शान्ति र संविधान बनोस् र सामाजिक, आर्थिक, सांस्कृतिकलगायत हरेक पक्षको सुरक्षा होस् भन्ने जनताको चाहना हो भन्दै उनले त्यहीअनुसार अघि बढ्न आफूले दलहरुलाई सुझाव दिने गरेको
बताए । उनले भने, “म हात जोडेर सबै नेता र प्रधानमन्त्रीज्यूलाई भन्छु कि सबै मिलेर समयमा संविधान बनाइदिनुस् ।” देशमा एकता र अखण्डता कायम होस्, देशको एकता नखल्बलियोस्, राम्रो शासन होस्, संविधान बनोस् भन्ने आफ्नो चाहना रहेको राष्ट्रपति डा. यादवको भनाइ थियो । महायज्ञ आगामी वैशाख ६ गतेसम्म चल्ने आयोजक समितिका संयोजक जीवछ गुप्ताले जानकारी दिए । महायज्ञबाट सङ्कलित रकमबाट वृद्धाश्रम स्थापना गरिने बताइएको छ ।

No comments:

Post a Comment