Wednesday, April 9, 2014

चड्कन हान्नेलाई घरमै गएर भेटे केजरीवालले

               काठमाडौं,चैत२६(एजेन्सी)–चुनावी अभियानका क्रममा तेस्रो पटक सर्वसाधारण जनताको निसानामा परेका आम आदमी पार्टीका नेता अरभिन्द केजरीवालले उनीमाथि आक्रमण गर्ने व्यक्तिको घरमै गएर भेटघाट गरेका छन् । केजरीबालमाथि तेस्रो पटक मंगलबार मात्रै एक रिक्सा चालकले माला लगाउन लागेको बाहना गरेर एक चड्कन प्रहार गरेका थिए । ललि नाम गरेका एक जना अटो रिक्सा चालकले केजरीवालले अटो ड्राइभरहरुको समस्या समाधानका लागि आश्वासन मात्र बाँढेको र त्यसलाई पुरा गर्नतर्फ खासै चासो नदिएको भन्दै झापड हानेका हुन् । उनको प्रहारबाट केजरीवालको देब्रे आँखामा सामान्य चोट पुग्नुका साथै चस्मा विग्रिएको थियो । यसअघि केजरीवाल दुई पटक सर्वसाधारणको निसानामा
परिसकेका छन् । एक पटक उनीमाथि अन्डा र फोहोर प्रहार भएको थियो भने दोस्रो पटक चड्कन नै प्रहार भएको थियो । हिजो मात्रै तेस्रो पटक रिक्सा चालकबाट थप्पड खाएका केजरीवालले बुधबार रिक्सा चालक ललिको निवासमै पुगेर उनीसँग भेटघाट गरेका छन् । ३८ वर्षिय ललि बाहिरी विहारका बासिन्दा हुन् । ललिसँगको भेटघाट पछि केजरीवालले उनलाई आफुले माफी दिएको बताएका छन् । प्रहरीदवारा नियन्त्रणमा लिइएका ललिलाई केजरीवाल र आपले कुनै पनि उजुरी नगरेपछि छाडिएको थियो । केजरीवालले पत्रकार सम्मेलन गर्दै उनीमाथि पछिल्ला दिनहरुमा भएका आक्रमणलाई गम्भिर षड्यन्त्रको संज्ञा दिएका छन् । उनले उक्त पत्रकार सम्मेलनमा अन्य पार्टीको चुनावी अभियानमा कुनै अवरोध नभएर आफ्नोमा मात्र किन यसरी अबरोध भइरहेको छ भन्दै प्रतिप्रश्न समेत गरेका थिए । ‘यि जनताहरु किन अरुलाई आक्रमण नगरी हामीलाई मात्र निसाना बनाइरहेका छन्’ केजरीवालले पत्रकार सम्मेलनमा राखेको जिज्ञासालाई उद्धृत गर्दै द हिन्दुले लेखेको छ,‘हामीमाथि आगामि दिनमा अझै भयानक र जीवनमाथि नै चुनौती हुने खाले आक्रमण हुन सक्छ,तर हामीले त्यसको सामना गर्न तयार रहनु पर्छ तर प्रतिवादमा भने उत्रनु हुँदैन ।’ उनले सो अवसरमा आफुले कुनै पनि सुरक्षा स्विकार नगर्ने पुरानो अडान पुनः दोहोर्याएका थिए ।

No comments:

Post a Comment