Sunday, October 6, 2013

वैद्य माओवादीले सोध्यो उम्मेद्वारलाई लिखित प्रश्न

उमेद्वारी फिर्ता गर्न देशैभरि पत्राचार

       असोज २०  नेपाल कम्युनिष्ट पार्टी- माओवादीले संविधानसभाको उम्मेद्वारी फिर्ता लिन भन्दै देशैभरिका उम्मेद्वारहरुलाई पत्र पठाएको छ । माओवादीसचिव देव गुरुङको हस्ताक्षर रहेको पत्रमा सरकारले जवर्जस्ती चुनाव गरेर द्वन्द्व थोपर्न खोजेकाले उम्मेद्वारी फिर्ता लिन आग्रह गरिएको छ । पत्रमा उम्मेद्वारहरुलाई केही प्रश्नहरु समेत सोधिएका छन् ।
           माओवादीले उम्मेद्वारलाई लेखेको पत्रमा भनिएको छ,-’राष्ट्रिय सहमति कायम गरौं र सहमतिको आधारमा संविधानसभाको निर्वाचन सम्पन्न गरौं भन्ने नेकपा-माओवादी सहित ३३ दलीय मोर्चाको तर्फबाट निकै गम्भीरता र लचकताका साथ ४ बुँदे प्रस्ताव प्रस्तुत गरिएको थियो । तर, त्यसलाई चार दलका नेताहरुले हठात अस्वीकार गरी जबर्जस्त रुपमा प्रायोजित निर्वाचन थोपरी द्वन्द्व निम्त्याउन
खोजेको हुनाले तपाईंले आफ्नो उम्मेदवारी फिर्ता लिएर राष्ट्रिय सहमति निर्माणको अभियानमा सहयोग पुर्‍याइदिन हुन ३३ दलीय मोर्चाको तर्फबाट तपाईंलाई हार्दिक आग्रह गरिन्छ ।’
          ‘संविधान निर्माण र निर्वाचन जस्तो मुद्दामा सबै राजनीतिक दलहरुका बीचमा राष्ट्रिय सहमति नभई कसरी सम्भव हुनसक्छ ? ४ दलका शीर्ष नेताहरुको एकाधिकारवादी सोच र अन्य दलहरुप्रतिको निषेधात्मक नीतिले नयाँ संविधानको निर्माण कसरी संभव हुन सक्छ ? वैद्यको पत्रमा संविधानसभाका उम्मेद्वाहरुलाई प्रश्न सोधिएको छ,- ‘लोकतन्त्रिक मुलुकमा सेनालाई जिम्मा दिएर निर्वाचन गरिएको कहाँ छ ? के यो निर्वाचन बहिष्कार गर्न पाउने लोकतान्त्रिक अधिकार विरुद्धको फासीवादी अभ्यास र नियोजित षडयन्त्र होइन ?’
          माओवादी नेता गुरुङले लेखेको पत्र ३३ दलीय मोर्चाका तर्फबाट भए पनि नेकपा माओवादीले पनि आफ्नै लेटरप्याडमा समेत पत्र पठाउने निर्णय गरेको बुझिएको छ । यसैवीच कात्तिक २ गतेबाट उम्मेद्वारहरुलाई गाउँ प्रस्न नदिने कार्यक्रम ३३ दलले यसअघि नै घोषणा गरिसकेको छ । साथै आइतबार बस्ने ३३ दलको बैठकले चुनाव बहिस्कार आन्दोलनको थप सशक्त योजना ल्याउने माओवादी नेताले बताएका छन् ।

No comments:

Post a Comment