Wednesday, October 9, 2013

खुमवहादुरले भने-दुई न्यायाधीशले मेरो राजनीतिक भविष्य फैसला गर्न सक्दैन

                   २३ असोज, काठमाडौं । भ्रष्टाचार अभियोगमा १४ महिना जेल जीवन बिताएर नेपाली काँग्रेस नेता खुमबहादुर खड्का बुधबार रिहा हुनु भएको छ । जेलवाट छुटेपछिसदरखोर डिल्लीबजार भित्रै पत्रकार सम्मेलन गरी खड्काले आफूलाई अन्यायपूर्ण तरिकाले जेल हालिएको दोहोर्‍याउनु भयो ।
                  कानुनको राज्य मान्नुपर्छ भन्ने सिद्धान्त बोकेको पार्टीको नेता भएकाले अदालतले गरेको निर्णयलाई स्वीकार गरेर जेल आएको बताउनुभयो । उहाँले भोलिका दिनहरुमा नेपाली काँग्रेसलाई सुदृढ बनाउन, प्रजातन्त्रलाई यो देशमा मजबुद बनाउन, राष्ट्रियतालाई अझ गहिरो बनाउन आफूले प्रयास जारी राख्ने प्रतिबद्धता
जनाउनुभयो ।
                     मंसिर ४ मा हुन लागेको निर्वाचनमा आफ्नो पार्टीका नेताहरुवाट केही कमिकमजोरी भएको बताउँदै खड्काले समय अझै भएकाले सच्चाउन आग्रह गर्नुभयो । खड्काले विपीका विचार र सिद्धान्त बोकेका नेता तथा कार्यकर्तालाई एक-एक पार्टीभित्रैवाट सिद्धयाउने कोशिश भएको आरोप लगाउनुभयो ।
                      उहाँले भन्नुभयो-यदि यो राष्ट्र रहेन भने हामी नेपाली भन्न पाउँछौ कि पाउँदैनौ । त्यसकारणले राष्ट्रिय एकता र प्रजातन्त्रका लागि कुनै पनि शक्तिसंग, कुनै पनि व्यक्तिसंग सम्झौता हुन सक्दैन ।’ खड्काले राष्ट्रवादी शक्तिहरु एक हुनु पर्नेमा जोड दिनुभयो ।
मुलुकमा द्वन्द्वमा लान खोजियो
                 खड्काले मोहन वैद्य नेतृत्वको ३३ दलीय मोर्चालाई सहमतिमा नल्याएर चुनावमा गएर मुलुकलाई द्वन्द्वमा लैजान खोजिएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो-’वैद्य नेतृत्वको ३३ दलीय मोर्चालाई बाहिर राखेर चुनावमा गएर द्वन्द्व निम्त्याउन खोजिएको छ । देश अब द्वन्द्वमा जान्छ-जान्छ । कसैले रोक्न सक्दैन ।’
                   खड्काले काँग्रेसका कार्यकर्ता मारिए त्यसको जिम्मेवारी पार्टी सभापति सुशील कोइरालाले लिनु पर्ने वताउनुभयो । उहाँले भन्नुभयो-’भोलि देश द्वन्द्वमा गयो भने काँग्रेसका कार्यकर्ता मारिए भने, लुटिन थाले वा पिटाइ खाए भने त्यसको जिम्मेवारी कसले लिने ? जिम्मेवारी पार्टी सभापति कोइराला, बरिष्ठ नेता शेरवहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले लिने किन नलिने ?’ खड्काले मुलुकलाई द्वन्द्ववाट बचाउन प्रजातन्त्रमा आघात आस्था राख्ने जोसुकै दलका व्यक्ति भएपनि मिलेर अघि वढ्नु पर्ने वताउनुभयो ।
राष्ट्र छिन्नभिन्न पारिए सैहृय हुँदैन
               खड्काले देशलाई छिन्न भिन्न पार्न खोजिएको भन्दै आक्रोश पोख्नुभयो । उहाँले भन्नुभयो-’हाम्रा पुर्खाले बनाएको नेपाल । पृथ्वीनारायण शाहले बनाएको यो राष्ट्रलाई छिन्नभिन्न गर्ने कोशिश हुँदैछ । त्यो नेपाली जनतालाई सैहृय हुँदैन ।’ खड्काले आफूहरु अन्तिम शास रहनु जेलसम्म पनि राष्ट्रियताका सवालमा लड्ने प्रतिवद्धता जनाउनुभयो ।
टिकट वितरणप्रति असन्तुष्टि
                खड्काले संविधान सभाको निर्वाचनका लागि पार्टीले बाँडेको टिकटप्रति असन्तुष्टि जनाउनु भएको छ । उहाँले भन्नुभयो-’टिकट वितरणमा केही त्रुटी भएको छ । तर टिकट नपाएकै कारण पार्टी छोडेर साथीहरुले गल्ति गरेका छन् । छोडेका साथीहरु तपाई पार्टीमा फर्किनुस् । पार्टी भित्रै संघर्ष गर्ने हो भाग्ने होइन ।’ खड्काले टिकट वितरणलाई मुद्दा नवनाई पार्टीका नेताहरुलाई चुनावमा जिताउनका लागि आफूले पहल गर्ने बताउनुभयो ।
               खड्काले चुनावमा नेपाली काँग्रेसले जितेमात्र मुलुकको प्रजातन्त्र दिगो हुने दावी गर्नुभयो । उहाँले एमाओवादीले ठूल्ठुला लड्डु बाडेर मुलुकलाई बर्बाद पारेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो-’हिजो एमाओवादीलाई हेर्नु भयो । ठुलठूला लड्डु बाडे र मुलुकलाई बर्बाद बनायो । त्यसैले मुलुकमा प्रजातन्त्र दिगो बनाउन काँग्रेसलाई जिताउनुस् ।’
काँग्रेसलाई जिताउन पहल गर्छु
                खड्काले आफूले अब चुनाव नेपाली काँग्रेसलाई जिताउन आफ्नो क्षमताले भ्याएसम्म लागि पर्ने वताउनुभयो । खड्काले आफू अहिले पनि पार्टीको केन्द्रीय सदस्य भएकाले महाधिवेशन नहोउन्जेल पार्टीलाई सुदृढ वनाउन प्रयास गर्ने वताउनुभयो । उहाँले चुनावी प्रचारका लागि पार्टीले खटाए आफू जिल्ला जिल्लामा गएर चुनावी प्रचारमा लाग्ने प्रतिवद्धता जनाउनुभयो ।
दुई न्यायाधीशको फैसलाले मलाई रोक्दैन
               खड्काले दुईवटा न्यायाधीशले आफ्नो राजनीतिक भविष्यको फैसला गर्न नसक्ने दावी गर्नुभयो । खड्काले भन्नुभयो-म साच्चिकै भ्रष्टाचारी भएको भए साच्चि नै मैले घुष खाएको भए कुन फाइलमा भ्रष्टाचार गरे । कसले भन्यो घुस खायो भनेर भ्रष्टाचार गर्‍यो भनेर देखाउनु पर्‍यो नि त ?’ आफू वीपीको लाइनको मान्छे भएकाले वदनाम गराउनका लागि षड्यन्त्र गरिएको भन्दै खड्काले दुई न्यायाधीशको फैसलाले आफूलाई रोक्न नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो-’दुईवाट न्यायाधीशले मेरो राजनीतिक भविष्य फैसला गर्ने होइन । मैले जेलमा आउँदा पनि भनेको थिए त्यहि कुरा दोहोर्‍याउँछु ।’
            उहाँले अदालत नभई अन्तिम निर्णायकर्ता नेपाली जनता भएको आफ्नो राजनीतिक भविष्य र देशको फैसला नेपाली जनताले नै गर्ने वताउनुभयो ।

No comments:

Post a Comment