Sunday, January 26, 2014

पर्वतको पाखापानी छुवाछूतमुक्त घोषणा"

             पर्वत, माघ १३ – कहिले खुल्ला दिसामुक्त, कहिले धुवाँमुक्त, कहिले निरक्षरता मुक्त त कहिले पूर्णखोप युक्त गाउँ विकास समिति घोषणा गर्ने चलन नौलो हुन छाडेको छ तर अब छुवाछूतमुक्त गााविस बनाउने अभियान पनि सुरु भएको छ ।
गाउँमा रहेको छुवाछूत प्रथालाई व्यवहारमा अन्त्य गर्ने उद्देश्यले पर्वतको पाखापानी गाविस छुवाछूतमुक्त गाविस घोषणा भएको छ । स्थानीय दलित सञ्जालको पहलमा पाखापानी जिल्लाको दोस्रो छुवाछूतमुक्त गाविस घोषणा भएको हो । समतामूलक समाज निर्माण गर्ने उद्देश्यसँगै पाखापानी गाविसलाई जिल्लाको दोस्रो छुवाछूतमुक्त गाविस घोषणा गरिएको
राष्ट्रिय दलित विकास संस्थाका कार्यक्रम अधिकृत जितबहादुर नेपालीले बताए ।
पाखापानी गाविसमा कुल जनसङ्ख्यामध्ये झन्डै ४० प्रतिशत दलित समुदायको प्रतिनिधित्व छ । केही वर्षदेखि लगातार रूपमा प्रयासरत् रहँदै आएको र दोस्रो छुवाछूतमुक्त गाविसका रूपमा घोषणा गर्न सफल भएको श्री नेपालीको भनाइ छ ।
उक्त घोषणा कार्यक्रममा स्थानीय दलित तथा गैरदलित समुदायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्ने स्थानीय वक्ताहरूले सामाजिक रूपमा अभियानलाई घोषणामा मात्रै सीमित नराखेर व्यवहारामा लागू गर्न आ–आफ्नो स्थानबाट लागिपर्ने प्रतिबद्धतासमेत जनाएका थिए ।
प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले समाजमा कलङ्कका रूपमा रहेको जातीय विभेदलाई निर्मूल गरी एकीकृत समाजको निर्माण गर्न थालेको अभियानप्रति सकारात्मक भाव दर्शाउँदै दीर्घकालीन रूपमा अघि बढाउन सुझाव दिए ।
प्रजिअ ढकालले गाउँ विकास समितिका सचिव झलक पौडेललगायत अभियानमा सहभागी सङ्घसंस्थाका प्रमुख एवम् प्रतिनिधिहरूलाई छुवाछूतमुक्त गाविस पाखापानी लिखित बोर्ड प्रदान गरेका थिए ।
नेकपा (एमाले) पर्वतका कार्यवाहक अध्यक्ष राजु पौडेल, नेपाली काँग्रेस पर्वतका जिल्ला सदस्य उज्ज्वल, राप्रपा नेपाल पर्वतका सचिव प्रकाश पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी चुडाराज भट्टराई, जिल्ला विकास समिति पर्वतका सामाजिक विकास अधिकृत लीलाधर शर्मा लगायतले पनि छुवाछूतमुक्त गाविस भएकामा बधाई दिएका थिए ।

No comments:

Post a Comment